बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।
डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
‘मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न खोजेको तर समयमै प्रहरी पुगेर रोक्न सफल भएको उहाँले बताउनु भयो । घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एकरएक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
मध्यरातमा १२/१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेका थिए । डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो ।
लुटपाट गर्ने उद्देश्यले हातहतियार सहित उनीहरू उद्योग छिरेका थिए । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको हो । घाइते शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्