जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार ०९:००

विश्वकप छनोट : नेपाललाई सिंगापुरले दियो १९२ रनको लक्ष्य


काठमाडौं, साउन १२

आईसीसी टि२० एसिया विश्वकप छनोट हुन नेपालले १९२ रन बनाउनु पर्ने भएको छ । अन्तिम खेलमा घरेलु टोली सिंगापुरले नेपाल सामु जितका लागि १९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ६ विकेटको क्षतिमा १९१ रन बनाएको हो । उसका लागि टिम डेविडले सर्वाधिक ७७ रनको पारी खेले । उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै रोहन रङ्गराजन ३३ बलमा ३ चौका र ४ छक्का सहित ४९ रनमा आउट भए । रोहन र डेविडले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि डेविडले मनाप्रित सिंहसँग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले विशाल योगफल तयार पारेको हो । सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

निक्कै राम्रो शुरुवात गरेको सिंगापुरलाई नेपालले अन्तिम तीन ओभरमा भने केही रन रोक्न सफल भएको थियो । नेपालका लागि अभिनास बोहोराले चार विकेट लिए । उनले चार ओभरमा ३४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिएका हुन् । यस्तै करन केसीले दुई विकेट लिए । बसन्त रेग्मी, सन्दिप लामिछाने विकेट विहिन हुदै मंहगो सावित भएका थिए । नेपाललाई प्रतियोगितामा छनोट हुन सिगापुरलाई पराजित गर्नु बाहेक विकल्प छैन ।