जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १६:००

चिनियाँ जन कंग्रेसका अध्यक्ष नेपाल आउदैं


काठमाडौं, १९ भदौ । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउनु हुने भएको छ ।

लीको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लाग्नुभएको हो ।

परराष्ट्रका अनुसार भदौ २७ गते सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । सोही दिन सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गर्नु हुनेछ ।

नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ १३ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

भदौ १३ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कनु हुनेछ ।