जनता टाइम्स

२० भाद्र २०७९, सोमबार १४:०२

केपी ओलीसहित एमालेबाट यी नेता भए सर्वसम्मत उम्मेदवार चयन


काठमाडौं, भदौ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रभावशाली नेताहरु सवसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ ।

आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रबाट ओलीसहितका पदाधिकारीहरु सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको हो ।

अध्यक्ष ओली झापा ५ बाट सर्वसम्मत हुनुभएको हो । आज मात्रै सम्पन्न एमाले झापा–५ क्षेत्रीय कमिटी बैठकले ओलीको एकल नाम सिफारिश गरेको हो । अहिलेसम्म बैठक बसेर सिफारिश गरिएकामध्ये बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल काठमाडौं–५ बाट एकल उम्मेदवार सिफारिश हुनुभएको छ । सोही निर्वाचन क्षेत्रबाट लगातार चुनाव लडदै र जित्दै आउनु भएका बरिष्ठ उपाध्यक्ष पोखरेललाई क्षेत्रीय कमिटीले एकल नाम सिफारिश गरी सर्वसम्मत बनाएको हो ।

यस्तै उपाध्यक्षहरु सुवास नेम्वाङ, र बिष्णु पौडेल पनि आफ्नो निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ । उपाध्यक्ष नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको हो ।

यसैगरी उपाध्यक्ष बिष्णु पौडेल रुपन्देही २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिश हुनुभएको हो । यस्तै सुरेन्द्र पाण्डे चितवन १ बाट सिफारिश हुनुभएको छ । पाण्डे भने सर्वसम्मत हुन सक्नु भएन । सो निर्वाचन क्षेत्रबाट जेएन थपलिया पनि सिफारिस हुनुभएको छ ।

एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ । यस्तै उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट सर्वसम्मत उम्मेदवार बन्नुभएको छ । उपमहासचिवमध्ये पृथ्वी सुब्बा गुरुङ लम्जुङबाट प्रदेशसभामा सिफारिश हुनुभएको छ भने बिष्णु रिमालले कतै चुनाव नलडी पार्टी जिताउने भूमिकामा रहने बताउनु भएको छ ।

सचिवमध्ये लेखराज भट्ट कैलाली ४, रघुबीर महासेठ धनुषा ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ । यस्तै सचिव गोकर्ण बिष्ट गुल्मी २ बाट तीन जनासहित सिफारिश हुनुभएको छ । यस्तै काठमाडौं २ बाट मणिराम फुँयाल, क्षेत्र नं ३ बाट कृष्ण राई, क्षेत्र नम्बर ४ बाट डा. राजन भट्टराई सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ ।

यसैगरी ललितपुर १ मा नवराज सिल्वाल सर्वसम्मत सिफारिश हुनुभएको छ भने काभ्रे २ मा गोकुल बाँस्कोटा, मोरङ ३ मा भानुभक्त ढकाल, ४ मा बिनोद ढकाल, २ मा ऋषिकेष पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ । यस्तै झापा १ बाट रबिन कोइराला सर्वसमम्त सिफारिशमा पर्नुभएको छ ।

यस्तै एमाले नेता भीम रावल अछाम १ बाट सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ । अछाम २ बाट यज्ञराज बोगटी सर्वसम्मत हुनुभएको छ । यसैगरी दार्चुलाबाट गणेशसिंह ठगुन्ना सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ । यस्तै दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ठाकुर गैरे क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ । पाल्पा १ मा पनि कुमारप्रसाद आचार्य सर्वसम्मत हुनुभएको छ ।

काठमाडौंको १० क्षेत्रमा २८ जना प्रस्ताव, चार क्षेत्रबाट सर्वसम्मत

एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बुधबारको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी समिति सदस्यद्वय डा. राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ तथा काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलगायतलाई उम्मेदवार बनाउने गरी एमालेले काठमाडौंमा उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । काठमाडौंका चार निर्वाचन क्षेत्र २, ३, ५ र ८ मा सर्वसम्मत उम्मेदवारको नाम सिफारिस भएका छन । बाँकीमा भने एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ ।

काठमाडौं– ५ बाट विजयी पोखरेलको एकल नाम सर्वसम्मत सिफारिस भएको छ । तर, अघिल्लोपटक काठमाडौं– ८ (क) बाट प्रदेश सभा सांसद बन्नुभएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम भने त्यस क्षेत्रबाट सिफारिस भएको छैन । उहाँको क्षेत्रबाट एमालेले राजेश शाक्यलाई अगाडि सारेको छ । उपाध्यक्ष शाक्यले आफू समानुपातिकबाट उम्मेदवार बन्ने इच्छा व्यक्त गर्नुभएकोले नाम नपठाइएको हो । त्यस्तै, काठमाडौं २ बाट मणिराम फुँयाल, ३ बाट कृष्ण राई र ८ बाट शाक्यको नाम सर्वसम्मत सिफारिस भएको छ ।

काठमाडौं १ बाट काठमाडौंका पूर्वउपमेयर विदुर मैनाली, केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको नाम सिफारिस भएको छ । २ बाट प्रदेश सभा (ख)का प्रदेश सभा सदस्य मणिराम फुँयालको मात्र नाम सिफारिस भएको छ । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएको क्षेत्र हो ।

एकीकृत समाजवादीले नेपालकै नाम एकल रूपमा अगाडि सारेकाले एमालेले पनि फुँयाललाई सर्वसम्मत रूपमा अगाडि सारेको छ । त्यस्तै, ३ बाट प्रतिनिधिसभा सांसद कृष्ण राईको मात्र नाम सर्वसम्मत सिफारिस भएको छ । प्रदेश सभा सांसद रामेश्वर फुँयाल पुनः प्रदेशमै उठ्न तयार भएपछि पार्टी पोलिटब्युरो सदस्य तथा काठमाडौंका सहइन्चार्ज राईको नाममा सर्वसम्मति भएको हो ।

त्यस्तै, ४ बाट स्थायी समिति सदस्य डा. भट्टराईको नाम पनि सिफारिस भएको छ । ५ बाट वरिष्ठ उपाध्यक्ष पोखरेलको मात्र नाम एकल रूपमा सिफारिस भएको छ । जिल्ला अध्यक्ष दीपक निरौला र प्रदेश सभा सांसद नारायण सिलवालसमेतको समर्थनमा एमालेले पोखरेललाई सर्वसम्मत उम्मेदवारका रूपमा अगाडि सारेको हो ।

त्यस्तै, ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ । ७ बाट स्थायी समिति सदस्य रघुजी पन्त र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यसहित इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ ।

त्यस्तै ८ बाट राजेश शाक्यको एकल नाम सिफारिस भएको छ । ९ बाट स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्वमेयर विद्यासुन्दर शाक्य र अजयक्रान्ति शाक्यको नाम सिफारिस भएको छ । त्यस्तै, १० बाट पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, पोलिटब्युरो सदस्य विनोद श्रेष्ठसहित शरब महर्जन, रमेश महर्जन र शम्भुराम महर्जनको नाम सिफारिस भएको छ ।