जनता टाइम्स

२० भाद्र २०७९, सोमबार २०:२४

चौतर्फि दवाब पछि सुरक्षागार्ड गुरुङ थुनामुक्त : प्रहरी निरीक्षक तामाङको जिम्मेवारी खोसियो


काठमाडौं, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त हुनुभएको छ । सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । उहाँले जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा हेरेर साधारण तारेखमा छाडेको बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले उाँलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिनुभएको थियो । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उहाँलाई छाड्न भन्दै पर्यटनमन्त्रीले गृहमन्त्रीलाई भनेको बताएको थियो । शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो । तर सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमतीलाई लिएर दलबलसहित पुग्नुभएको थियो । क्यानडामा हुन लागेको आईकाओको कार्यक्रममा लागि मन्त्रालयका ६/७ जनासहितको टोली बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेको थियो ।

त्यसक्रममा ‘गरुड सेक्यूरिटी’ अन्तरगत कार्यरत सुरक्षागार्ड गुरुङले उहाँहरुलाई लाइनमा आउन भन्नुभएको थियो । प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेपछि सुरक्षागार्डले रोकेपछि त्यहाँ विवाद भएको थियो ।

गुरुङलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको थियो । हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उहाँसँग भेट गरेर तस्वीर खिच्नुभएको थियो । यस विषयमा छानबिन गर्न प्रहरीले एसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । लामिछानेलाई गुरुङसँग भेटाइदिएको भन्दै प्रहरी निरीक्षक विकास तामाङको पनि जिम्मेवारी खोसिएको छ ।