जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार ०७:३८

गठबन्धनले कांग्रेसलाई धम्क्याएर सिट संख्या कम गर्न सकिन्छ भनेर बुझ्नु गलत हो – महामन्त्री थापा


काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति हुन बाँकी रहेको बताउनुभएको छ । आज विहान संचारकर्मीसंग कुराकानी गर्दै महामन्त्री थापाले नेताहरूले सार्वजनिक अभिव्यक्ति दिएजस्तो कांग्रेसले १०० सिटभन्दा तल झरेर सहमति हुने अवस्था नरहेको बताउनुभयो ।

मंगलबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले ८० र माओवादी केन्द्रले ६० वरपर सिटमा सहमति हुने बताउनुभएको थियो ।कांग्रेस महामन्त्री थापाले भने कांग्रेसलाई १०० सिटमा झर्नै समस्या भइरहेको र ८० सिटमा झरेर चुनावी तालमेल गर्ने अवस्था नरहेको बताउनुभयो । गठबन्धनमा अहिले कुनै सहमति भइसकेको छैन ।

हामी छलफलमै छौँ, छलफल निरन्तर छ । तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनौँ, उहाँले भन्नुभयो , कांग्रेसले कति सिट लिने भन्ने विषयमै हामी निष्कर्षमा पुगेका छैनौँ । अहिले करिब १२७ सिटमा कांग्रेसको दाबी छ, त्यो सिटलाई झारेर १०० सिटमा ल्याउनुपर्नेछ । त्यो नै भइसकेको छैन ।

उहाँले कांग्रेसले १०० वटा कुन कुन सिट लिने भन्ने विषयमा समेत पार्टीभित्र छलफल भइरहेको बताउनुभयो । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८० सिटमा पहिलो छौँ, र ७० वटा सिटमा दोस्रो छौँ, महामन्त्री थापाले भन्नुभयो , केही क्षेत्रमा मात्रै हामी तेस्रो छौँ । दोस्रो भएको ठाउँमा पनि स्वभाविकरुपमा साथीहरुको इच्छा छ, त्यसलाई पनि सम्बोधन गर्नुपर्ने अवस्था छ । उहाँले गठबन्धन दलले कांग्रेसलाई धम्क्याएर सिट संख्या कम गर्न सकिन्छ भनेर बुझ्नु गलत हुने बताउनुभयो ।