जनता टाइम्स

२३ भाद्र २०७९, बिहीबार १३:३४

कांग्रेसले सय सिट नलिए विद्रोह हुने कोइरालाको चेतावनी


काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सयभन्दा कम सिट लिए कांग्रेसको विद्रोह हुने चेतावनी दिनुभयो । गठबन्धनमा भाग मिलाउँदा समस्या आइरहेको छ, त्यसकै उपजमा कोइरालाले देउवालाई धम्किपूर्ण शैलीमा पार्टीमा विद्रोह हुन सक्ने बताउनुभएको हो ।

बिपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा गरेको ‘बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ बिषयक विचार गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । डा. कोइरालाले निर्वाचन घोषणा भइसकेको अवस्थामा संसदको म्याद थप्ने प्रयासलाई हास्यास्पद भन्दै व्यंग्य पनि गर्नुभयो ।

‘यो गठबन्धन विचित्रको छ। एकातिर जननायक बीपी कोइरालाले दिनु भएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ। अर्कातिर आफूलाई कम्युनिष्ट भन्नेहरु छन्,‘ उहाँले भन्नुभयो,‘उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन। विचार र सिद्धान्त नमिले पनि गठबन्धन गयौं, ।’ डा. कोइरालाले संसद पुनःस्थापनाको एजेन्डा सकिएपछि अब एमालेलाई हराउन र सरकार बनाउनकै लागि यो गठबन्धन बनेको पनि तर्क गर्नुभयो ।

‘गठबन्धनबारेमा कांग्रेसमा धेरै छलफल भएको छ। स्थानीय चुनावमा पनि गठबन्धन गरेको हो। त्यसबेला स्थानीय आवश्यकता अनुसार गठबन्धन भएको थियो । तर अहिले केन्द्रले नै गठबन्धन गर्ने निर्णय गरेको छ ।’ उहाँले यो गठबन्धन गरेर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसकेमा विद्रोह र विग्रह हुने बताउनुभयो ।

उहाँले थप्नुभयो,‘यो गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो। पाँच वर्ष स्थायी सरकार दिन्छौँ भनेका छौं । सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अफ्ठ्यारो पार्छ। बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन ।’ उहाँले माओवादी र समाजवादीहरु कांग्रेसलाई सय सिट दिन तयार नभएको पनि जानकारी दिनुभयो ।

‘उहाँहरु सय सिट दिन तयार हुनुहुन्न। हामीले १६५ सिटमा उठ्यौँ भने पनि नपुग्ने अवस्था छ,’ उहाँले भन्नुभयो,‘तालमेल गर्दा धेरै सिट घट्न सक्छ। त्यसले हामीबीच विग्रह र विद्रोह आउँछ। कांग्रेसमा समस्या बढ्न सक्छ ।’ उहाँले कांग्रेसमा आउन सक्ने संकटबारे पटक–पटक नेतृत्वलाई राखेको पनि बताउनुभयो । ‘हामीले पटक-पटक यी कुराहरुलाई राखेका छौँ। आज र भोलिमा हामीले केही न केही निर्णय गर्नैपर्छ, उहाँले भन्नुभयो,‘असोज २ मा समानुपातिकको उम्मेदवारी दर्ता छ। अहिले कांग्रेस अत्यन्त अफ्ठ्यारो परिस्थितिमा अघि बढिरहेको छ ।’