काठमाडौं, २३ भदौ । नागरिकता विधेयकलाई लिएर राष्ट्रपति विद्या भण्डारीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग बिहीबार दिउँसो शीतल निवास बोलाउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको गठबन्धन शीर्ष बैठक छाडेर यादव नजिकै शीतल निवास पुग्नुभएको थियो।
उच्च स्रोतका अनुसार भण्डारीले आफ्नो सुझाव लत्याउँदै हुबहु विधेयक सदर गराएकामा गठबन्धनप्रति रोष प्रकट गर्नुभयो । विधेयकमा रहेका कतिपय प्रावधान जति बहुमतले पारित गरे पनि गलत नै रहेको भण्डारीको तर्क थियो । ‘फेरि प्रमाणीकरणका लागि आएको छ, तर मैले यत्तिकै हेर्ने कुरा हुँदैन,’ भण्डारीको भनाइ उद्धृत गर्दै यादवले गठबन्धनका शीर्ष नेताहरुसँग सुनाउनुभएको थियो ।
‘मैले संविधानकै सीमाभित्र रहेर केही गर्छु, त्यसलाई अदालतले पनि केही भन्ने ठाउँ हुँदैन ।’यादवको कुरा सुनेका कांग्रेसका एक नेताका अनुसार त्यो कदम के हो, कस्तो प्रकारको हो भन्नेबारे राष्ट्रपतिले प्रष्ट खुलाउनुभएन । तर भण्डारी यत्तिकै बस्ने अवस्थामा नरहेको आफूले पाएको उहाँले सुनाउनुभएको थियो । ‘मैले उहाँलाई अब तपाईंसँग संविधानले दिएको विकल्प बाँकी छैन भनेर सम्झाएँ, अस्ति पुनरावलोकनका लागि फिर्ता पठाउने विकल्प पनि सकिइसकेको यथार्थ जानकारी गराएँ,’ यादवले बालुवाटारमा नेताहरुसँग भन्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्