जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १२:५१

यसपटक एमालेले चुनाव नजित्ने हो भने देश बर्वाद हुन्छ : केपी ओली


काठमाडौं, भदौ २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउनका लागि आगामी निर्वाचनमा नेकपा एमालेको जीत नभए मुलुक बर्वाद हुने तथ्य औल्याउनुभएको छ । गठबन्धनले १३ महिनामा मुलुक र जनतामाथि नै गम्भीर खेलवाड गरेकोले अवको निर्वाचनमा एमालेले जित्नुको विकल्प नरहेको अध्यक्ष ओलीले बताउनुभयो ।

काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो,’यसपटकको निर्वाचन एमालेले नजित्ने हो भने देश बर्वाद हुन्छ, गठबन्धनले १३ महिनामै गरेको उपद्रोलाई रोक्न जरुरी छ ।’ अध्यक्ष ओलीले गठबन्धन सरकार मुलुकका लागि अभिषाप बनेको बताउनुभयो ।

‘१३ महिनामा मुलुकको अर्थतन्त्र तहस-नहस पारेको छ । महंगीको कुरा सुनिनसक्नु छ । मुल्य डरलाग्दो गरी बढेको छ । बैदेशिक मुद्राको सञ्चति डरलाग्दो रुपमा घटेको छ । हरेक ठाउँमा आफ्नो खर्च कटौती गर्नुपरेको छ । कठिनाइ तर्फ जिन्दगी जाँदै छ । सञ्चितिको कुरा परै जावस,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले यसपटकको निर्वाचनमा मत हाल्दा देशको माटोलाई हेर्न आग्रह गर्नुभयो । ‘यो चुनाव हरेक पाँच बर्षमा हुने साधारण आम निर्वाचन जस्तो मात्रै होइन । बिशेष महत्वको हो । देश बनाउने कि बर्वादीलाई बढावा दिने भन्ने निर्णय यो निर्वाचनबाट लिनुपर्ने छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।