जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १८:४६

धार्मिक उत्तेजना फैलाउने राजेन्द्र लिङदेनको त्यो भाषण . . .


काठमाडौं, २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ओमकार अभियानमा दिएको त्यो भाषणले तरंग उत्पन्न गरेको छ । विश्व ओमकार एकता महाअभियानले शुक्रबार आयोजना गरेको कार्यक्रममा लिङदेनले आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो ।

सो कार्यक्रममा उहाँले धर्मनिरपेक्षता कसैले नमागेको र एकैपटक त्यो विषय आउँदा सबैले ढ्यापढ्याप ताली पिटेर समर्थन गरेको बताउनु हुँदै भड्काउ किसिमले भारतको उदाहरण दिनुभएको थियो । उहाँले ‘नेपालका हिन्दु के हिन्दु ? हिन्दु त भारतमा छन्, जसले हिन्दुत्वमा चोट लाग्ने कुरा मात्रै कसैले गर्‍यो भने त्यहाँ मर्न मार्न तयार हुन्छन्,’ भन्नुभएको थियो ।

उहाँले आफूलाई लिम्बूको छोरा भएर हिन्दुत्व कुरा गर्ने भन्ने आरोप लाग्ने गरेको बताउनु हुँदै जसले जसरी लिए पनि आफू आफ्नै जीवनकालमा हिन्दु राष्ट्र बनाउने संकल्प लिएर हिडेको बताउनुभयो । उहाँले थप्नुभयो ‘मलाई जेसुकै आरोप लगाए पनि देश र धर्म जोगाउने अभियानबाट पछि हट्ने छैन,’ उनले भने, ‘सके आफ्नै जीवनकालमा हिन्दूराष्ट्र पुनस्र्थापना गर्ने अभियानमा आफू हिँडेको छु । नसके पनि यसै अभियानका लागि सकिन्जेल काम गर्नेछु ।’