काठमाडौं, २६ भदौ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन बनाउने काममा सहयोग गरेको भन्दै तत्कालीन सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा आएर बयान दिने क्रममा उहाँले भवन निर्माणमा सहयोगी भूमिका निर्वाह गरेकोभन्दै तत्कालिन प्रधानमन्त्री ओलीको प्रशंसा गर्नु भएको हो ।
उहाँले ओलीको प्रयास नभएको भए सर्वोच्च अदालतको भवन निर्माण अघि बढ्न नसक्ने जिकिर गर्नुभएको छ । ‘सर्वोच्च अदालतको भवन निर्माणमा अति मेहनत परेको छ । तत्कालीन अर्थमन्त्रीज्यू यहाँ नै हुनुहुन्छ’ उहाँले बयानमा भन्नुभयो, ‘उहाँको सौहाद्रपूर्ण सहयोग नभएको भए अनि तत्कालीन प्रधानमन्त्रीज्यू सकारात्मक नहुनु भएको भए त्यहाँ एकदमै जटिल अवस्था थियो ।’
नेपालको सन्दर्भमा सबैभन्दा ठूलो आकारको बजेटको भवन बनेको भन्दै उनले करिब २ सय वर्षका लागि यो भवनले थेग्ने बताउनुभयो । बयानमा उहाँले पटकपटक तत्कालीन प्रधानमन्त्रीलाई ‘आभार’ भन्नुभयो । ‘तत्कालीन सरकारलाई मैले धेरै ठाउँमा आभार व्यक्त गरेको छु’ उहाँले बयानमा भन्नुभयो, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मैले धेरै ठाउँमा आभार व्यक्त गरेको छु । अर्थमन्त्रीज्यूको आभारी व्यक्त गरेको छु ।’
बयाानका क्रममा जबराले तत्कालिन प्रधानमन्त्री ओलीको नाम लिनुभएको प्रशंग जस्ताको तस्तै ः
सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा अति मेहनत परेको छ । तत्कालीन अर्थमन्त्रीज्यू अहिले यहाँ नै हुनुहुन्छ । उहाँको सौहाद्रपूर्ण सहयोगात्मक सहयोग नभएको भए अनि तत्कालीन प्रधानमन्त्रीज्यू सकारात्मक नहुनु भएको भए त्यहाँ एकदमै जटिल अवस्था थियो । अहिलेको अवस्थामा बन्ने नै थिएन, आउने नै थिए ।
कोभिडको पालामा पनि अर्थमन्त्रीज्यूले यो भवन स्वाभिमानको विषय हो, बन्नुपर्छ भन्नुभएको थियो । उहाँले बजेट दिएको कारणले गर्दाखेरि बन्नका लागि सुरु भएको हो । कोभिडको बेलामा बजेट नै थिएन, तै पनि नेपालको सन्दर्भमा सबैभन्दा बढी बजेटको भवन हो यो । भवन निर्माणका लागि धेरै पटक बैठक भयो । २०७२ सालको भुइँचालो गएपछि निकै कठिन अवस्था भएकाले बनेको हो ।
यो भवन निर्माणको नीतिगत निर्णय गर्ने काम चै, त्यहाँ अदालत व्यवस्थापन समिति छ, त्यसले गरेको हो । तत्कालीन सरकारलाई मैले धेरै ठाउँमा आभार व्यक्त गरेको छु । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मैले धेरै ठाउँमा आभार व्यक्त गरेको छु । अर्थमन्त्रीज्यूको आभारी व्यक्त गरेको छु । किनभने भवन बन्ने ठाउँमा नेपाली सेनाको घोडातबेला थियो । एकातिर घोडातबेला अर्कोतर्फ पुरातत्व विभाग थियो ।
हामीले तत्कालीन प्रधानमन्त्रीज्यूलाई लिएर गएर सबै देखाएका हौं । बाटोभरी मिसिल छ । हिड्ने ठाउँ छैन, बस्ने ठाउँ छैन । भित्र इजलास निकै साँघुरो छ । चेम्बरमा हावा यताउता हुने ठाउँ छैन ।
धेरै प्रयासपछि सैनिक हटाउन उहाँहरुले पश्चिम र उत्तरतर्फको जग्गा मिलाउनुभयो । तत्कालीन प्रधानसेनापतिले विकल्प माग्नुभयो । मैले प्रधानमन्त्रीलाई सेना नहटी मिलेन भनेको हुँ । पुरातत्व विभागलाई राजदरवारभित्र वा केशरमहलमा लैजाने कुरा भएको हो । प्रधानमन्त्रीज्यूले पुरातत्व विभाग हामीलाई सदाका लागि चाहिने हो, इतिहास हो । कतिपय सामग्री संवेदनशील छन् । त्यसैले सार्न मिल्दैन भन्नुभयो । अर्को थोत्रो भवनमा कसरी राख्ने रु नयाँ भवन नबन्दासम्म सक्दैनौं भनेपछि सेना हटाइदिन भनेको हो ।













प्रतिक्रिया दिनुहोस्