जनता टाइम्स

३० भाद्र २०७९, बिहीबार ११:१०

एक वर्षमै फेरियो नेपाली सेनाको संरचना, प्रभुरामले ब्यूँताए पूर्णचन्द्रले खारेज गरेको आठ पृतना


काठमाडौं, भदौ ३० । नेपाली सेना पुनः पृतना संरचनामामै फर्कने भएको छ । सैनिक ऐनमा कमाण्ड भन्ने शब्द नभएको र तीन जोर एक कमाण्ड संरचना लागू गर्न समेत कठिनाई भएपछि नेपाली सेना एक बर्षअघिको निर्णय सच्याउँदै पृतना संरचनामामै फर्कने निर्णयमा पुगेको हो ।

तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई आवश्यकता र औचित्यका आधारमा भन्दै कमाण्ड संरचनामा लिने निर्णय गर्नुभएको थियो । कमाण्ड संरचना आफैमा राम्रो भएपनि लागू गर्न कठिनाई भएको सैनिक मुख्यालयको भनाई छ । नेपाली सेनामा १ साउन २०७८ मा कमाण्ड संरचना लागू भएको थियो ।

सेनाले गरेको संगठनको पुर्नसंरचना २०७८ अनुसार नयाँ गण र गुल्मको संख्या १८ वटा थपिने र त्यसलाई चाहिने ब्यारेक घर, जग्गा र हात हतियारका लागि थप ८४ अर्ब खर्च हुने भएपछि पुरानै संरचनामा जाने निर्णय गरेको हो । तर, सेनाले तीन जोड एक अवधारणालाई भने कायमै राख्ने भएको छ ।

सैनिक ऐन ०६३ मा समेत चोमु, पृतना,गण र गुल्मजस्ता शब्दावली भएपनि कमाण्ड भन्ने शब्द कतै पनि उल्लेख नभएपछि व्यवहारिक कठिनाई समेत भएको सैनिक अधिकारीहरुको भनाइ छ । मन्त्रिपरिषदको २१ भदौमा बसेको बैठकले सेनाको पुरानो संरचना ब्युँताउने निर्णयलाई स्वीकृती दिइसकेको छ ।

जसअनुसार सेनामा आठ वटा पृतना रहने छन । तात्किालन प्रधासेनापति थापाले नदीको आधारमा पूर्वी,मध्य,पश्चिम र उपत्यका गरी चार वटा कमाण्डको अवधारणा लागू गर्नुभएको थियो । तर, प्रधानसेनापति प्रभुराम शर्माले भने ०७४ कै संरचनामा संगठन अघि बढाउने निर्णय लिनुभएको छ ।

सेनामा अव पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम पृतना गरी आठ पृतना रहने छन् । कमाण्ड संरचनामा गएपछि सेनाको प्रदेशसंगको समन्वयमा समस्या भइरहेको थियो । पृतना संरचनामा गएसंगै अव सेनाको व्यवहारिक कठिनाई हल हुने अपेक्षा गरिएको छ ।

तत्कालिन प्रधासेनापति थापाले नदीको आधारमा पूर्वी,मध्य,पश्चिम र उपत्यका गरी चार वटा कमाण्डको अवधारणा लागू गर्नुभएको थियो । तर, प्रधानसेनापति प्रभुराम शर्माले भने ०७४ कै संरचनामा संगठन अघि बढाउने निर्णय लिनुभएको छ ।

सेनाले आम निर्वाचनको मुखमै पृतना संरचनालाई ब्युँताएपछि त्यसले तरंग सिर्जना गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि सेनाले कार्यान्वयनको प्रक्रिया समेत सुरु गरिसकेको छ । सेनाका कार्यरथी उपरथी सागरबहादुर थापाले मातहतमा पठाएको पत्रमा नेपाली सेनाको परिचालन, कार्य प्रकृति र कमाण्ड कन्ट्रोल तथा नेपाल सरकारका अन्य निकायहरुसंगको समन्वयको आवश्यकतालाई मध्यनजर गरी पृतना मुख्यालयको तैनाथी तथा जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

परिपत्रमा पुर्नस्थापित पृतनाहरुलाई विगतमा प्रदान भईरहेको जिम्मेवारी क्षेत्र अनुसार जिम्मेवारी तोक्ने निर्णय भएकोले पृतना, बाहिनी, गण र गुल्महरुको दरबन्दी सांगठनिक पूनर्सरचना २०७८ कार्यान्वयन पूर्वको (२०७४ अनुसार) कायम रहने उल्लेख गरिएको छ ।