जनता टाइम्स

१ आश्विन २०७९, शनिबार १६:२५

केपी ओलीमै केन्द्रित बन्यो अन्तिम बैठक, देउवादेखि प्रचण्डसम्मले यसरी स्वीकारे ओलीलाई नै मुल नेता


काठमाडौं, असोज १ । प्रतिनिधिसभाको अन्तिम बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमै केन्द्रित हुँदै सकिएको छ । आज बसेको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवादेखिसत्तारुढ सवै नेताहरुले आफ्नो संबोधनको क्रममा ओलीलाई नै मुलुकको मुल नेताको रुपमा स्थापित गर्दै आफ्नो धारणा राख्नुभएको छ ।

आज आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले समेत सरकारले गरेको कामबारे कुनै जानकारी दिन नसकि ओलीलाई केन्द्रमा राखेर आफ्नो धारणा राख्नुभयो । परमादेशले संसदमा ओली र आफूलाई संगै भेट गराएको भन्दै देउवाले ओलीकेन्द्रित भाषण गर्नुभयो । आफ्नो संबोधनको अधिकांश समयको हेराई पनि देउवाको ओलीतिरै थियो । उहाँको भाषण सुन्दा लाग्थ्यो, उहाँका नजरमा ओली नै मुलुकका लागि मुल नेता हुनुहुन्छ ।

‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भनिरहनुहुन्छ,’ एमाले अध्यक्ष ओलीतिर हेरेर हाँस्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो संसदै परमादेशको हो, उहाँहरू परमादेशबाटै आएर हामीसँग सहकार्य गरेर बसिरहनुभएको छ । त्यसकारणले परमादेश नआएको भए उहाँ र हामी यसरी सहकार्य गरेर सँगै काम गर्न पाउने थिएनौं ।’

देउवा जस्तै गठबन्धनका अन्य नेताहरुले पनि ओलीमै केन्द्रित रहनुभयो । सवैले आफ्नो दल र सरकारको कामभन्दा एमाले अध्यक्ष केपी ओलीकै वरपर रहेको आफ्नो धारणा राख्दै मुल नेता ओली नै भएको स्वीकरोक्ति गर्नुभयो । गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त अधिकांश समय केपी ओलीकै लागि खर्च गर्नुभयो ।

कांग्रेसको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनको बिकास र बिस्तार गर्ने अभियानको नेतृत्वकर्ता रहनुभएका प्रचण्डले संबिधानबिरोधी गठबन्धनको हर्कत ढाकछोप गर्न ओलीको आलोचना गर्नुभयो । ‘तीनवर्ष पुग्दानपुग्दै संविधानको मर्म र भावनाअनुसार सरकार अगाडि जान सकेन । मलाई अनौठो पनि र अलिअलि आश्चर्य पनि लाग्यो,’ प्रचण्डले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षी दलको नेताले प्रतिगमनको पनि ब्याख्या पनि गर्नुभयो, लोकतन्त्रको पनि व्याख्या गर्नुभयो । यो के जसले जे भनेपनि हुनेहोकी क्याहो जस्तो पनि लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार, सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइदैन भनेर हामी सबैले सचेत भएर व्यवस्था गरेको होइन् ?’ प्रचण्डको अभिब्यक्तिले पनि अहिले पनि केपी ओली नै मुल नेता हुनुहुन्छ भन्ने प्रष्ट देखिएको थियो ।

यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि केपी ओलीमै केन्द्रित अभिब्यक्ति दिनुभयो । यी तीन नेताको संसदको संबोधनले केपी ओली निर्बिकल्प नेता रहेको र आगामी चुनावमा केपी ओलीलाई नै प्रधानमन्त्री बनाउन जनताले मतदान गर्नुपर्ने भान हुन्थ्यो । आफ्नो कुरा निर्धक्क राख्ने ओलीले भने संसदमा गठबन्धनको एक एक बदमासी, न्यायालयको सेटिङसम्मको भण्डाफोर गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आज रातीबाट सकिदैछ । पाँच बर्षअघि निर्वाचित संघ र प्रदेशका लागि आगामी मंसिर ४ गते आम निर्वाचनको मिति तोकिएको छ । सर्वाेच्च अदालतको परमादेशबाट गठन भएको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई बिस्थापित गर्नका लागि यो निर्वाचन भइरहेको छ । निर्वाचनमा नेकपा एमालेले ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरिसकेको छ ।

गठबन्धनले भने भावी प्रधानमन्त्री घोषणा नगरी जनतालाई झुक्याएर चुनाव जित्ने र पाँच बर्ष राज्यकोषमा लुटपाट मच्चाउने र भारतका लागि कम्फर्टेवल बन्दै मुलुक बर्वाद बनाउने भित्री मनसाय राखेको पाइएको छ । गठबन्धनले भावी प्रधानमन्त्री बनाउने ब्यक्ति नै नभेटेको अनुभुति आम नागरिकले गरेका छन ।

संसदको आजको बैठकको दृष्य, प्रधानमन्त्रीदेखि सत्तारुढ दलका नेताको अभिब्यक्ति र ओलीको दमदार संबोधनले भावी प्रधानमन्त्री केपी ओली नै हुने अनुभुति दिलाएको छ भने सत्ता गठबन्धनका नेताहरुले आलोचना गर्दा पनि ओलीलाई मुल नेताका रुपमा स्वीकार गरेको तथ्य उजागर भएको छ ।