जनता टाइम्स

१ आश्विन २०७९, शनिबार १६:२४

एमालेको काठमाडौं पदयात्राको सन्देश


पार्टीको आव्हानमा उर्लेको यो मानव सागरले आगामी निर्वाचनपछि सत्ताको बागडोर समाल्ने पार्टी एमाले नै हो र जनताको एकमात्र भरपर्दो नेता के पी ओली नै हुन् भन्ने देशभरका मतदातालाई सकारात्मक सन्देश दिएको छ

निर्मल भट्टराई

संविधान दिवश २०७९ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले काठमाण्डौमा भव्य वाकाथन (पदयात्रा)को आयोजना गरेको छ । बानेश्वर, कुपन्डोल, कालिमाटी, मैतीदेवी र लैनचौर पाँच ठाउँबाट सहिद गेटमा भेला भइ बसन्तपुरमा पुगेर समापन भएको सो पदयात्रामा मानवसागर ओर्लिएको थियो ।

लैनचौरबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बानेश्वरबाट महासचिव शंकर पोखरेल, ललितपुरबाट उपाध्यक्ष युवराज ज्ञवाली, कालिमाटीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र मैतीदेवीबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पदयात्राको नेतृत्व गर्नुभएको थियो । शहिद गेटबाट पार्टी अध्यक्ष के पी शर्मा ओलीले नेतृत्व गर्नु भएको थियो । हजारौंको हातमा नेपालको राष्ट्रिय झण्डा र ओली सरकारले जारी गरी प्रचलनमा ल्याएको नेपालको चुच्चे नक्सा थियो । पार्टी अध्यक्ष के पी शर्मा ओलीको सङ्क्षिप्त सम्बोधनपछि बसन्तपुरमा पुगेर पदयात्राको वसमापन भएको थियो ।

मजदुर, युवा, खेलाडी, विध्यार्थी, महिला, उध्योगी-व्यापारी,बुध्दिजीवीलगायत समाजका सबै तह र तप्काका जनताको सहभागितामा सम्पन्न सो पदयात्राले निकै सकारात्मक सन्देश प्रवाह गरेको छ । पहिलो, स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको प्रमुख स्वतन्त्र उम्मेद्वार बालेन साहले जितेपछि काठमाण्डौ उपत्यकामा प्रमुख शक्ति रहँदै आएको एमाले कमजोर भएको आंकलन गरिंदै थियो । त्योभन्दा अगाडि बढेर जनता पार्टीहरूको विपक्षमा मात्र होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा छन् भन्न खोजिंदै थियो । उपत्यकाका जनतामा पार्टी र व्यवस्थाप्रति वितिष्णा जन्मिएको र पार्टीहरूको ठाउँ स्वतन्त्रले लिन सक्ने अड्कल गरिंदै थियो । बालेन साहले जितेपछि स्वतन्त्र उम्मेद्वारीको फेसन शुरू भएको थियो ।

एमालेको काठमाण्डौ वाकाथनले प्रष्ट सन्देश दिएको छ- उपत्यकाका जनता एमालेको पक्षमा छन् र बालेनको विजय एक अपवादमात्र थियो ।
दोस्रो, एमाले-माओवादी एकता भङ्ग भएपछि त पछि एमाले पनि चोइटिएपछि एमाले काठमाण्डौमा लयमा फर्कनै नसकेको जस्तो देखिएको थियो । पार्टी एकता र विभाजनले एमालेको विगतको बलियो साङ्गठानिक संरचनामा व्यापक असर परेको अनुमान पार्टीभित्र समेत गरिन्थ्यो । तर छोटो तयारी र अल्प सूचनाको भरमा जनसागर सदकमा ओर्लिएको यो घटनाले एमालेले स्थानीय निर्वाचन अघिभन्दा आफूलाई निकै मजबुत बनाएको तथ्यलाई पुष्टि गरेको छ ।

तेस्रो,एमालेविरूध्द देउवा-प्रचण्ड-माधव-उपेन्द्रको गठबन्धनले आगामी आमनिर्वाचनसम्मै मिलेर जाने तयारी गरिरहेको र एमाले प्रतिरक्षात्मक अवस्थामा रहेको विपक्षीले बताउँदै आएका थिए । सबै मिलेर एमालेलाई पछार्ने रणनीति बनिरहेको बेला एमालेको यो भीमकाय शक्ति प्रदर्शनले उनीहरूलाई जवाफ दिएको छ-एमाले अजेय शक्ति हो, यसलाई पछार्ने कल्पना नगर ।

चौथो, गठबन्धन दलका नेताले एमालेलाई संविधानविरोधी पार्टीको रूपमा आरोपित गर्दै आएका थिए । एकातिर आफू संविधानलाई क्षतविक्षत बनाउने, लोकतन्त्रको उपहास गर्ने र जनविरोधी क्रियाकलापलाई निरन्तरता दिने अनि एमालेलाई संविधानविरोधी पार्टीको विल्ला भिराउने दुष्प्रयत्न सत्तारूढ गठबन्धनबाट हुँदै आएको थियो। संविधान दिवशलाई जनस्तरबाट मनाउनु पर्छ भन्दै एमालेले शुरू गरेको यो अभियानले एमालेमात्र नेपालको वर्तमान संविधानको सच्चा पहरेदार हो भन्ने प्रष्ट पारेको छ ।

पाचौं, पार्टीको आव्हानमा उर्लेको यो मानव सागरले आगामी निर्वाचनपछि सत्ताको बागडोर समाल्ने पार्टी एमाले नै हो र जनताको एकमात्र भरपर्दो नेता के पी ओली नै हुन् भन्ने देशभरका मतदातालाई सकारात्मक सन्देश दिएको छ । पार्टी एकताबध्द भएर जनताको आँखामा राख्दा नविजाउने प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको टिम लिएर निर्वाचनमा होमिए एमालेको विपक्षमा जस्तोसुकै गठबन्धन बने पनि एमालेलाई हराउन सक्दैन भन्ने हौसला एमालेलाई प्राप्त भएको छ ।