जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार ०७:३४

बिप्लव समुहको चन्दा अभियान तीब्र : संघीय सरकारकै सचिवदेखि जनप्रतिनिधिसम्मलाई चन्दा माग्दै पत्र


काठमाडौं, साउन १४ । संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध आन्दोलनमा उत्रिएको नेत्रविक्रम चन्द (बिप्लव) समूहले मुलुकभर चन्दा आतंक मच्चाएको छ । बिप्लव समुहले ‘विशेष आर्थिक अभियान’ का नाममा चन्दा संकलन तीव्र पारेको हो । सो समुहले उसले उद्योगी, निर्माण व्यवसायी, शैक्षिक संस्था, व्यापारी, कर्मचारी, शिक्षक र स्थानीय तहका जनप्रतिनिधिलाई समेत पत्र पठाएरै चन्दा मागेको छ ।

चन्द समुहमाथि चन्दा संकलनकै लागि गणतन्त्रबिरुद्ध हतियार उठाएर अराजकता मच्चाएको आरोप लाग्दै आएको छ । तर सो समुहले आरोपको बेवास्ता गर्दै पैसा संकलनलाई नै आफ्नो राजनीतिक अभिष्ट बनाएको देशभर मच्चाइएको चन्दा आतंकले देखाएको हो । चन्दा माग्दै पत्र पठाएको बिप्लव समुहले सार्वजनिक गरे थप कार्वाही गर्ने भन्दै चतावनी दिने गरेको छ । बिप्लव समुहले नेपाल सरकारका सचिव, विभागीय प्रमुखलगायतलाई यस्तो पत्र पठाएको हो ।

बिप्लव समुहले बिद्यार्थी भर्नाको बेला नीजि स्कूलमा पनि चन्दाको पत्र पठाएको छ । प्याब्सनका एक पदाधिकारीका अनुसार जिल्लादेखि केन्द्रसम्मका निजी विद्यालय सञ्चालकसँग चन्दा मागिएको हो । ‘पत्र पठाएका छन् तर कति रकम हो भन्ने खुलाएका छैनन्,’ ती पदाधिकारीको भनाई छ । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरु पनि चन्द समूहले चन्दा मागेको स्वीकार गरे । यस्तै गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिसँग पनि चन्द समूहले चन्दा मागेको छ ।