जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार ०९:५१

अमेरिकाबाट भित्रियो सबैभन्दा बढी रेमिट्यान्स : भारत दोस्रो, जापान तेस्रो सूचीमा


काठमाडौं, साउन १४ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट भित्रिएको छ। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा अमेरिकाबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकको गत आवको ११ महिना (साउन–जेठ)को तथ्यांकअनुसार बढी रेमिट्यान्स आउने मुलुकमा अमेरिका पहिलो र भारत दोस्रोमा देखिएको हो ।

डाइभर्सिटी भिसा (डीभी) का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो। नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन्। यो सुविधा अन्तर्गत उनीहरूले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन्।

भारतमा काम गर्ने नेपालीको तथ्यांक छैन। खाडी र मलेसियाभन्दा बढी नेपाली भारतमा काम गर्छन्। भारतबाट गत आवको ११ महिनामा ९० अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ। अमेरिका र भारतपछि जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट बढी रेमिट्यान्स भित्रिने गरेको छ। यी देशमा विद्यार्थी जाने गरेका छन्। नेपालीको शैक्षिक गन्तव्यका रूपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार जापानबाट ६४ अर्ब ६८ करोड, दक्षिण कोरियाबाट ३१ अर्ब ८६ करोड रेमिट्यान्स भित्रिएको छ। सरकारले विभिन्न देशसँग श्रम सम्झौतालाई प्राथमिकता दिँदै आएको छ। गत वर्ष मलेसिया, जापान, संयुक्त अरब इमिरेट्स (यूएई) र मौरिसससँग श्रम सम्झौता भयो। सम्झौताअनुसार न्यून लागतमा कामदार जाने व्यवस्था गरिए पनि उचित पारि श्रमिक तय हुन सकेको छैन।नेपाली कामदारका प्रमुख गन्तव्य खाडी र मलेसियाबाट प्रतिव्यक्ति औसत मासिक २२ हजार रुपैयाँ रेमिट्यान्स आउने गरेको पाइएको छ। ती देशमा विदेशी कामदारलाई न्यून पारि श्रमिक दिने गरिएका कारण रेमिट्यान्स पनि थोरै भएको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) बहराइन, कुवेत, ओमन र मलेसिया नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक हुन्। यी मुलुकमा ठूलो संख्यामा नेपाली कामदार गएका छन्। वैदेशिक रोजगारीका गन्तव्य मुलुकभन्दा विद्यार्थी भिसामा जाने मुलुकबाट तुलनात्मक रूपमा बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको ११ महिनामा सात खर्ब ६३ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आवमा पाँच लाख आठ हजार आठ सय २७ जना वैदेशिक रोजगारीमा गएका थिए। राष्ट्र बैंकका अनुसार मलेसियाबाट ७२ अर्ब ६ करोड रेमिट्यान्स भित्रिएको छ। यहाँ पाँच लाखभन्दा बढी नेपाली कामदार छन्।

साउदी अरबबाट ११ महिनामा ८६ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। साउदीमा चार लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ। यस्तै कतारबाट ६४ अर्ब ३८ करोड, संयुक्त अरब इमिरिट्ेस ९यूएई०बाट ८१ अर्ब ९२ करोड रेमिट्यान्स भित्रिएको छ। बहराइनबाट २३ अर्ब पाँच करोड, कुवेतबाट १४ अर्ब २० करोड, ओमानबाट चार अर्ब ७५ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।