जनता टाइम्स

४ आश्विन २०७९, मंगलवार २२:२५

कांग्रेसबाट देवी भट्टचनको बिद्रोह : समानुपातिक त्यागेर बाग्लुङ २ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा


काठमाडौं, असोज ४ । प्रभू ग्रुपका अध्यक्ष तथा चर्चित समाजसेवी देवीप्रकाश भट्टचनले नेपाली कांग्रेसबाट बिद्रोह गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिकतर्फ छैटौं नम्बरमा राखेर निर्वाचन आयोगमा सूची पठाएपछि भट्टचनले बिद्रोह गर्नुभएको हो ।

प्रतिष्ठित ब्यापारिक घराना प्रभु ग्रुपका अध्यक्ष भट्टचनले कांग्रेस त्यागेर बाग्लुङ २ बाट प्रत्यक्ष निर्वाचन लडने घोषणा गर्नुभएको छ ।

‘म नेपाली कांग्रेसको समानुपातिक सूचीमा रहन्न, बाग्लुङ २ बाट प्रत्यक्ष निर्वाचन लडने निर्णयमा पुगेको छु,’ समाजसेवी भट्टचनले जनताटाइम्स डटकमसँग भन्नुभयो । उहाँले कांग्रेसले आफूलाई गम्भीर अपमान गरेको र बाग्लुङ २ का जनताले खोजेको भन्दै यो निर्णयमा पुगेको बताउनु भयो ।

उहाँले बाग्लुङ २ मा स्वतन्त्र रुपमा उम्मेदवार बन्ने र नेकपा एमालेको सूर्य चिन्ह लिने गरी गृहकार्य अघि बढाउनु भएको छ । भट्टचनले प्रत्यक्षतर्फ नै चुनाव लडने निर्णयका साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरु ङ, सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पदमा अर्यालसहितका शीर्ष नेताहरुसँग छलफल गरी सूर्य चिन्हमा चनाव लडने तयारी अघि बढाउनु भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेतासहित सवैले हिम्मत भए लडेर जितेर देखाउ भनेपछि उहाँले यस्तो बिद्रोह गर्नुभएको हो । भट्टचन २०४८ सालमा पनि बाग्लुङ २ मा स्वतन्त्र चुनाव लडेर उपबिजेता बन्नुभएको थियो ।