जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार १६:२४

पाँच मतदान केन्द्र थपिए, ११ मतदानस्थलको नाम र स्थान परिवर्तन


बैतडी, असोज ६ । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा पाँच मतदान केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदानकेन्द्र थप गरिएका हुन् ।

जिल्लाको दशरथचन्द नगरपालिकाका तीन, मेलौली नगरपािलका र पुर्चौँडी नगरपािलकामा एक/एक मतदान केन्द्र थप गरिएका छन् । दशरथचन्द नगरपालिका–१ मा रहेको मणिलेक मावि र गुरुखोलामा दुई मतदान केन्द्र रहेकोमा थप एक गर्दै तीन केन्द्र बनाइएका छन् ।

दशरथचन्द नगरपालिका–४ मा रहेको शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका–५ को वडा कार्यालय पल्लाचौँडाली, पुर्चौँडी नगरपालिका–६ मा रहेको जनता मावि रौनालीचौर, मेलौली नगरपालिका–२ मा रहेको कोटेश्वर माविमा एक मतदान केन्द्र रहेकोमा त्यहाँ पनि एक/एक थप्दै दुई बनाइएका छन् । यस्तै यहाँका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गरिएको छ । आवश्यकतानुसार ११ ओटा मतदानस्थलमध्ये ६ ओटा नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको हो ।

दशरथचन्द नगरपालिका–५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौँडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय र वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राखिएको छ ।

यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राखिएको छ । यस्तै पुर्चौँडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राखिएको छ । यस्तै पाँच ओटा मतदानस्थलको ठाउँ परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दशरथचन्द नगरपालिका–८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरी, साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका–२ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका–७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास–४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल वडा नं ४ को कार्यालयमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी नाम र स्थान परिवर्तन गर्न यसअघि आयोगलाई सिफारिस गरिएको र सोही सिफारिसको आधारमा परिवर्तन भएर आएका हुन् । जिल्लामा एक सय २९ ओटा मतदानस्थलका दुई सय १० ओटा मतदान केन्द्र रहेका छन् ।

बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछन् । गत वैशाखमा सम्पन्न स्थानीय तको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता रहेका थिए । यहाँ प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।