जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार २०:४२

महेश बस्नेतको गर्जन : एमालेलाई गाली गर्नेहरु चोर–डाका–फटाहा, अपराधी, सुँगुर हुन


काठमाडौं, असोज ७ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले फेक आइडी चलाएर एमालेको विरोध गर्नेहरुलाई सुँगुरको उपमा दिनुभएको छ । राष्ट्रिय युवा संघको राष्ट्रिय प्रचार भेलामा बोल्दै संघका इञ्चार्जसमेत रहनुभएका नेता बस्नेतले यस्तो बताउनु भएको हो ।

‘हामी मयुर हौं भने यिनीहरु सुँगुर हुन्। मयुरको र सुँगुरको कहिल्यै पनि मिलन हुन सक्दैन, यो कुरा तपाई हामीले मात्रै बुझेर हुँदैन। यो कुरा आम मतदाताले बुझ्नुपर्छ। यो कुरा आम जनसमुदायले बुझ्नुपर्छ। आम युवाहरुले बुझ्नुपर्छ,’ बस्नेतले भन्नुभयो ।

उहाँले एमालेबिरुद्ध लाग्नेहरुलाई जस्ताको तस्तै जवाफ दिन पनि युवाहरुलाई आह्वान गर्नुभयो । ‘हाम्रा विरुद्ध वार रुम चलाएर, फेक आइडी चलाएर गाली गर्नेहरु चोर, डाँका, फटाहा, अपराधी, सुँगुर, कुकुर हुन्। यो भनेवापत फेरि मलाई गाली आउला हैन ? त्यो सामना गर्न हाम्रो पंक्ति तयार छ, यही हो आज हामीले दिन खोजेको सन्देश,’ बस्नेतले भन्नुभयो ।

आजको सूचना प्रविधिको युगलाई सही ढंगले चलाउन र परिचालन गर्नको निमित्त कार्यक्रम आयोजना गरिएको बताउँदै बस्नेतले थप्नुभयो, ‘कुनैबेला साम्राज्यवाद प्लेन चढेर आउँथ्यो, आज साम्राज्यवाद हावाबाट आइरहेको छ। आज अराजकतावाद हावाबाट आइरहेको छ। यो सूचना प्रविधिको साम्राज्यवादलाई हावामै हानेर ध्वस्त पार्ने युग हो यो। यो युगलाई सबभन्दा पहिला युवाहरुले बुझ्नुपर्छ।’