जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार २१:३७

उच्च शिक्षामा शोधपत्रिकालाई प्रवद्र्धन गर्न उपकुलपति डा बाँस्कोटाको आग्रह


काठमाडौं, असोज ७ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले उच्चशिक्षामा ज्ञान फैलाउने प्रभावकारी माध्यमका रूपमा शोधपत्रिका (जर्नल) को प्रकाशनलाई महत्व दिन आग्रह गर्नुभएको छ ।

एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको नियमित जर्नलको सातौँ अङ्कको लोकार्पण गर्न आज आयोजित कार्यक्रममा उपकुलपति डा बाँस्कोटाले नियमित पठनपाठनका अतिरिक्त अनुसन्धानमूलक सामग्रीको उत्पादन र प्रकाशन अत्यावश्यक भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्दै यस्ता सामग्रीमार्फत ज्ञान हस्तान्तरण गर्ने कार्यलाई प्रवद्र्धन गरिने विश्वास व्यक्त गर्नुभयो ।

उपकुलपति डा बाँस्कोटा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठ र कलेजका अध्यक्ष रमेशकुमार सिलवालले संयुक्त रूपमा उक्त जर्नलको लोकार्पण गर्नुभएको हो ।

अध्यक्ष सिलवालले अनुसन्धानमुखी जर्नलमा ध्यान केन्द्रित गर्दै इन्जिनियरिङ विषय अध्ययन गर्ने क्रममा प्रयोगात्मक शिक्षाको निष्कर्ष प्राप्तिका लागि विद्यार्थीलाई एड्भान्स कलेज एक उत्कृष्ट फोरम भएको बताउनुभयो । नाष्टका उपकुलपति श्रेष्ठले आफ्नो ज्ञान र अनुभवलाई निखार्ने कार्यमा यस्ता जर्नलजस्ता छापा प्रकाशनहरूले सघाउ पुर्याउने जनाउनुभयो ।