जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १८:१९

मधेसबाटै ओलीको घोषणा : मंसिर ४ पछि एमालेको सरकार बन्छ, एक महिनामै नागरिकता समस्या समाधान गर्छ


धनुषा, असोज ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने र सो सरकारले एक महिनाभित्रै नागरिकता समस्या समाधान गर्ने घोषणा गर्नुभएको छ ।

धनुषाको विदेह नगरपालिस्थित तीनकौरियामा शनिबार आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने बताउनु भएको हो ।

एमालेको सरकार बनेको एक महिनामै नागरिकतासम्बन्धी समस्या समाधान हुने अध्यक्ष ओलीले बताउनुभयो । ‘मंसिर ४ को चुनावपछि एमालेको सरकार बन्नेछ र सरकार बनेको १ महिनाभित्र नागरिकताको समस्या समाधान गरिनेछ, जन्मसिद्धका नागरिकलाई तुरुन्त नागरिकता दिइनेछ, एमालेले नेपाली नागरिकलाई जागरिता देउ भन्छ तर गठबन्धन गैरनागरिकलाई नागरकिता देउ भन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

कमजोर तत्वहरु एमालेसँग डराएर एमाले विरुद्ध भ्रम फैलाइरहेको पनि अध्यक्ष ओलीले बताउनुभयो । आफूहरुले नागरिकता समस्या समाधान गर्न संसद् नभएका बेला नागरिकतासम्बन्धी अध्यादेश ल्याएको तर विरोधीहरुले अगाडि बढ्न नदिएका उहाँले स्मरण गराउनुभयो । त्यतिबेला जन्मसिद्धका ५-६ हजार सन्तानले नागरिकता पाइसकेको अवस्थामा अहिलेको गठबन्धनमा रहेका नेताले अदालतमा मुद्दा हालेर रोकेका अध्यक्ष ओलीले बताउनुभयो । संसद् छलेको भनेर अदालतले नचाहिने कुरा गरेको पनि उहाँले बताउनुभयो ।

संसद् चल्दाचल्दै पार्टी फुटाउने अध्यादेश ल्याउँदा, एमालेका सांसद् राखेर सरकार बनाउँदा, परमादेश जारी गर्दा संविधानको धारा नचाहिएको तर जन्मसिद्धका नागरिकका छोराछोरीलाई नागरिकता दिउँ भन्दा रोकिएको ओलीको भनाई थियो ।

देशभर जस्तै मधेशमा पनि एमाले प्रवेशको लहर चलिरहेको भन्दै अध्यक्ष ओलीले एमालेलाई विगतमा मधेशमा प्रवेश निषेध गरिएका दिनको पनि स्मरण गर्नुभयो । विगतमा आफूले भाषण गरेर गएको केही समयमै गोली चलेको स्मरण गर्दै उहाँले त्यतिबेला राज्यले नै गोली चलाएको ठोकुवा गर्नुभयो । पार्टी र बहुमत भन्दा मधेशका जनताको ज्यान ठूलो हो भनेर आफूले मधेश प्रवेशको कार्यक्रम रोकेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो ।

सरकारमा छँदा आफूहरुले समग्र देशसँगै मधेशको विकासका लागि धेरै काम गरेको अध्यक्ष ओलीले बताउनुभयो । आफू नेतृत्वको सरकारले किनेर ल्याएको रेल चढेर कार्यक्रमस्थलसम्म आएको जानकारी दिँदै उहाँले हुलाकी राजमार्ग बनेको, मधेशमा ढलको व्यवस्था गरिएको बताउनुभयो । तराईको विकासको जिम्मा आफूले लिने उद्घोष अध्यक्ष ओलीले गर्नुभयो ।

सुकुम्बासीका समस्या पनि आफूहरुले समाधान गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । चुनावपछि एमालेको सरकार बन्ने र ५ वर्षमा नेपालबाट सुकुम्बासी समस्या समाधान गर्ने अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले एमाले जिउँदो पार्टी भएको भन्दै तानाशाही कदम नचाल्न सरकारलाई कडा चेतावनी दिनुभयो ।