जुम्ला, ९ असोज । नेपालीको महान चाड बडादसैँ नजकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो । जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल भन्नुहुन्छ,‘जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् ।’
उहाँका अनुसार हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि काम गर्न सकिरहेका छैनन् । अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म पटकपटक बजार अनुगमन गरेको गर्दै आएको छ ।
उहाँले भन्नुभयो,‘यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् ।’ मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ । अझै पनि केही होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ता हुन सकेका छैनन् । मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ। लेबलमा उत्पादन मिति प्रस्ट खुलाएको भेटिँदैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको सामान पसलबाटै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताउनुभयो । ती सामान ग्रामीण बस्तीका दर्ता नभएका पसलबाटै बिक्री भइरहेको उहाँको भनाइ छ ।
अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ । खाद्य अनुसन्धान अधिकृत डा। सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको पाइने गरेको छ । जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको थियो ।
पछिल्लो समयमा जिल्लाको एक नगरपालिकासहित आठवटा गाउँपालिकाको केन्द्रमा स्थानीय बजार स्थापना भइसकेका छन् । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रतिनिधि नन्दमाया रोकायाले समयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गर्नुभयो ।


















प्रतिक्रिया दिनुहोस्