जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १०:४७

मुलुक जटिल परिस्थितिमा पुगेको भन्दै अष्ट्रेलियाबाट आयो हिमानीको कडा आक्रोश (भिडियोसहित)


काठमाडौं, असोज ११ । पूर्वयुवराज्ञी हिमानी शाहले देश निर्माणमा एकजुट भएर लाग्न ढिला भइसकेको भन्दै गम्मीर चिन्ता र चासो ब्यक्त गर्नुभएको छ । हिमानी ट्रस्टको कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहनुभएक शाहले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै यस्तो चिन्ता व्यक्त गर्नुभएको छ । शाहले भिडियोमा देशले राजनीतिक अस्थिरताले जटिल परिस्थिति भोगिरहेको पनि बताउनु भएको छ ।

अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीलाई वडादसैंको अवसरमा शुभकामना दिँदै हिमानीले आज देशलाई पौरखी हात र साथको आवश्यकता रहेको बताउनु भएको छ । उहाँले विदेशमा रहेका नेपालीहरुलाई त्यहाँ सिकेका सीप र ज्ञानलाई नेपालमै खर्च गर्ने बेला आएकोसमेत औंल्याउनु भएको छ । देशलाई कर्मठ जनशक्तिको आवश्यकता रहेको बताउँदै उनले हामीले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ? भन्दै प्रश्न गर्नुभएको छ ।

‘आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ । विकसित राष्ट्रियहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ । अब विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ । आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न ढिला त भइसकेको छैन,’ शहले भन्नुभएको छ ।

यस्तो छ भिडियो सन्देश

मुटुभरी देशको माया हुँदाहुँदै पनि छातीमा देशको माया सजिए तापनि विदेशी कर्मभूमिमा बसेर पसिना भोग्नुपर्ने तपाईं हाम्रो बाध्यता हो । जन्मभूमिलाई कर्मभूमि बनाउन नसक्नु धेरै कारण हुन सक्दछ । अनि थोरैका रहर र धेरैको बाध्यता हुन सक्दछ । जन्मभूमि नेपाल, यहाँको माटोमा मिठो सुगन्ध छ । सौन्दर्य छ, मौलिक संस्कृति छ, अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ । आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ । विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर राजनीतिक परिस्थितिको सामना गरिरहेको छ ।

गौरवशाली वीरहरुको, सगरमाथाको अनि गौतम बुद्धको देश नेपाल आज अनेकौं विषम र जटिल परिस्थितिमा फँसेको हामीमाझ स्पष्ट छ । हामीले नगरे कसले गर्ने ? र अहिले नगरे कहिले गर्ने ? तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ । विकसित राष्ट्रियहरुको रुपमा उभिएको नेपाललाई आज पौरखी हात र साथको आवश्यकता छ । अब विदेशमा पढेको ज्ञान र सिकेको सीप आफ्नै देशमा खर्चने बेला आएको छ । आज सबै एकजुट भएर हातेमालो गर्दै देश निर्माणमा लाग्न ढिला त भइसकेको छैन ? भन्ने आह्वानका साथ सबैलाई सोच्ने आग्रह गर्दछु ।

हाम्रो चाडबाडले सजिएको सुन्दर देशको एक ठूलो पर्व वडादसैंको अवसरमा अस्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर रहनुभएका समस्त नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनी एवम् यस हिमानी कोष अस्ट्रेलिया र अमेरिकाका च्याप्टरका सम्पूर्ण सदस्यहरुलाई माता भवनी सधैं आशीर्वाद दिउन् भन्ने शुभेच्छाका साथ समृद्धि, आयु र आरोग्यको लागि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु धन्यवाद ।