जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १५:११

पितृ खुसी पार्न चामल छर्केरै छोरीको हत्या, आमा अस्पतालमा


काठमाडौं, ११ असोज । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् । उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर छ ।

गम्भिर सुनमायालाई घटनास्थलबाट उद्धार गरी हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताउनुभयो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरूको नाम पनि सार्वजनिक गरेको छ । सबै खाँडादेवी गाउँपालिका–३ का रहेका छन् । २३ मध्ये नौजना १६ देखि २० वर्ष उमेरको रहेको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी बनाउने विधि प्रयोग गरेर कुटेको स्वीकारेका छन् । पक्राउ पर्नेमा १६ वर्षीया सविना माझी, १६ वर्षकै शिरीष भन्ने राजकुमार माझी, १७ वर्षीया सपना माझी, मनीषा माझी, १९ वर्षका राजेश माझी, भरत माझी, रामहरि माझी, २० वर्षका सुरज माझी, संगीता माझी, २२ वर्षको सिर्जना माझी, २३ वर्षीय बिन्दा माझी, २४ वर्षका कुमार माझी, उदयबहादुर माझी, पुसमान माझी, भरत माझी, २६ वर्षका धनबहादुर माझी, शुक्रे माझी, २९ वर्षका राजु माझी, ३० वर्षीय विज्ञान माझी रहेका छन् ।

त्यस्तै ३२ वर्षका शुक्रबहादुर माझी, ३७ वर्षका शिवबहादुर माझी, ४० वर्षीया राधिका माझी र ५४ वर्षका धर्मबहादुर माझी रहेका छन् । सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व रहेको र उनीहरूको संस्कारअनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शिरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास छ ।

जसको शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्दछन् । घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एक दिन सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ । नदीमा बगाउने समयमा पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरूको शरीरमा पितृ खुसी हुन्छन् भन्ने विश्वास माझी समुदायमा छ । योसँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ ।

तर, यसपटक पितृलाई बगाउँदासमेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी नै रहे । उनीहरूले पितृले गर्दा काम्न नछोड्नुमा यसको दोषी गाउँकै बिबी माझी रहेको निष्कर्ष युवायुवतीले निकालेका थिए र, उनीहरूले पिट्न थालेको बताइएको छ । सबैजना काम्दै बिबी र सुनमाया माझीको बसेको घरमा पुुगे । चामलको अक्षताले आँखामा हान्दै बिबीलाई अनुहार तथा टाउकोमा मुड्कीले कुटपिट गर्न थाले । उनी मरणासन्न भइन ।

त्यही समयमा एउटा बिरालो बिबीको घरमा आइपुुग्यो । माझी युवायुवतीले बिरालो समाते र त्यहीँ काटेर आगोमा पोलिदिए । निर्घात कुटपिट गरिएकी बिबीको त्यतिबेलासम्म मृत्यु भइसकेको थियो । उल्टै उनीहरूले बिबीलाई कथित ‘बोक्सी’ करार गरे । र, बिबीको शरीरबाट बिरालो उत्रिएकाले त्यसलाई काटेपछि उनी पनि मरेको निष्कर्ष निकाले ।

छोरीको हत्यापछि त्यही समूहले आमा सुनमायालाई पनि घरबाट निकालेर कुटपिट गर्न थाले । मानव अधिकारकर्मीले पनि घटनाप्रति गम्भीर चासो दिएका छन् । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार माझीको विवाह भए पनि श्रीमान् पहिले नै बितिसकेका थिए, सन्तान थिएनन् । माइतीमा बुबा बितिसकेका र दाजुभाइ नभएकाले उहाँले आमा सुनमायालाई आफ्नै घरमा ल्याएर पालनपोषण गर्दै आउनुभएको थियो ।‘ घरमा आमाछोरी मात्रै बस्नुहुन्थ्यो ।