जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार १५:००

रुपेश अधिकारी र दीपेन्द्र धिमाल एन्फा सदस्यमा निर्वाचित


काठमाडौं, १२ असोज । रुपेश अधिकारी र दीपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ । एन्फाको आज बसेको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित हुनुभएको हो ।

सदस्यमा निर्वाचितमध्ये रुपेश एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको हुनुहुन्छ भने दीपेन्द्र अध्यक्ष पंकज विक्रम नेम्बाङ समूहको हुनुहुन्छ । रुपेशले ५४ मत प्राप्त गर्नुभयो भने दीपेन्द्रले ४७ मत प्राप्त गर्नुभयो ।

सदस्यकै प्रत्यासी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गर्नुभयो । यसअघि गत असार ६ गते सम्पन्न निर्वाचनमा चार जनाकै समान ३९ भोट आएको थियो । जसको कारण दुई सदस्यको टुंगो लागेको थिएन । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।