जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १८:४८

लाल महम्मद हत्याकाण्ड : तीनजना अभियुक्त सार्वजनिक, रेकी गर्ने युवती पनि यसरी परिन् पक्राउ


काठमाडौं, १४ असोज । गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको काठमाडौंको गोठाटारमा गोली हानी हत्यामा संलग्न भएका ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट अगाडिको सडक खण्डसँगै रहेको खुल्ला स्थानमा सवारी साधन रोकी हत्यामा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

असोज ३ मा कारबाट झर्ने क्रममा सर्लाहीको सिसौरिया–६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेका थिए।

गोली लागी घाइते भएका उनलाई शंखरापुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारको क्रममा उनको असोज ३ गते राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो। उक्त घटनाबारे प्रहरीको विशेष टोलीले अनुसन्धानका क्रममा तीन जनालाई उपत्यका, वीरगञ्जसहितका भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो।

उनीहरुलाई केही दिन पहिल्यै पक्राउ गरिएको थियो। उनीहरु तीनैजनालाई काठमाडौं परिसरले सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१६ निवासी २१ वर्षीय महोरम मियाँ रहेका छन् । उनले उक्त हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी उक्त हत्याकाण्डमा संलग्न भएको अभियोगमा प्रहरीले पर्साकै वीरगञ्ज महानगरपालिका–१५ निवासी १९ वर्षीय रेहान मियाँलाई पनि पक्राउ गरेको छ । उनले हत्याको योजना बनाउनुका साथै हतियार व्यस्थापनमा सघाएको खुलेको छ । प्रहरीले उक्त हत्याकाण्डमा संलग्न भएको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका–१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तानलाई पनि पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनले मृतकको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन् । प्रहरीका अनुसार उनी यसअघि चोरी मुद्दामा कारागार बसेर छुटेकी थिइन् । उनले २०७६ असार ११ गतेदेखि २०७८ फागुन ७ गतेसम्म चोरी मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरेको खुलेको छ । प्रहरीले उक्त हत्याकाण्डमा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार मेड इन युएसए लेखिएको पेस्तोल एक थान, २.९ एमएमको खोका ४ र ३.९ एमएमको प्रयोग नभएको चार राउन्ड गोली पनि बरामद भएको छ। उनीहरुविरुद्ध ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यानसम्बन्धी कसुर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको मैनालीले बताउनुभयो ।