जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १९:१७

बझाङी आलुले बजार पाउने आशा


बझाङ, १४ असोज । खप्तडछान्ना गाउँपालिका–६ तिउनेका शमशेर थापाले गत वर्ष दगाडमा आलुका लागि निकै पसिना चुहाउनुभयो । वर्षौंदेखि बाँझो रहेको जमिनमा ट्याक्टर जोतेर करिब डेढ क्विन्टल रातो आलु लगाउनुभयो । त्यसको उत्पादन पनि सोचेभन्दा राम्रो भयो । एउटै बोटबाट दुई/तीन किलोको हाराहारीमा आलु फल्यो । कुनै बोटमा त पौने केजी बराबरको दाना नै थियो ।

आलुको उत्पादन सोचेभन्दा बढी भएपछि एक महिनाअघि नै बजारको खोजीमा लाग्नुभयो शमशेर । पाटादेवल, कोसेडीखेत, भालुवाङलगायतका स्थानीय बजारमा आलु बिक्री नभएपछि कुहिने चिन्ता लाग्यो उहाँलाई । ‘गत वर्षको बाढीले स्थानीय बजारसम्म जाने बाटो पनि अवरुद्ध गरेपछि बारीबाट घरमा ल्याएको आलु कुहिने चिन्ता लागेको थियो’, उहाँले भन्नुभयो,‘बारीबाट घरसम्म त पुर्यायौँ, अब बजार कसरी पुर्याउने भन्ने चिन्तामै थियौँ । करिब डेढ महिनापछि सडक खुल्यो अब बजार पाइन्छ कि भनेर आशा लागेको छ ।’

वर्षौंदेखि बाँझो जमिनमा पनि राम्रै उत्पादन हुँदा तरकारी खेती नै गर्ने सोच बनाएको तर, बजार नपाउँदा निरास हुनुपरेको उहाँ बताउनुहुन्छ । ‘मामाले एक क्विन्टल ३० केजी रातो आलुको बीउ दिनुभयो’, थापाले भन्नुभयो,‘दगाउँमा तीन/चार दिन लगाएर लगाएको आलु १५ क्विन्टल जति भएको छ । आधा निकाल्नै बाँकी छ । अब निकाल्दै बिक्री गर्नुपर्छ ।’

बाह्र कक्षामा पढ्दै गरेका थापा पछिल्लो समय व्यावसायिक खेतीतर्फ आकर्षित हुनुहुन्छ । ‘टनेलभित्र तरकारी फलाउँदा हरेक सिजनमा पनि ताजा तरकारी खान पाइन्छ’, थापा भन्नुहुन्छ,‘गत वर्षदेखि थोरै लगानीमा तरकारी खेती सुरू गरेको हुँ । अहिले आफूलाई पर्याप्त भएर छिमेकीहरूलाई सानोतिनो बेच्ने गरेका थियौँ । त्यसले घर खर्च राम्रै चलेको थियो । यसपटक मात्रै आलु बेच्न पाएको छैन ।’

तिउनेमा शमशेर मात्रै एक्ला हुनुहुन्न, वीरजङ्ग थापा र वीरेन्द्र थापाको बारीमा पनि यसपटक आलु राम्रै उत्पादन भएको छ । उहाँहरू पनि अहिले सडक खुलेको र आलुले बजार पाउने आशा पलाएको बताउनुहुन्छ । ‘पहिले नजिकैको बजारमा तरकारी पुर्याए पनि बेचिन्थ्यो’, थापा भन्नुहुन्छ,‘बीचमा लामो समय सडक अवरुद्ध भएपछि बजार पाइएन । अब त दसैँ पनि लाग्यो । गाउँघरबाटै पनि बेचिन थालेको छ ।’

खप्तडछान्ना–९ का हिक्मत रोकायाले पनि आलुखेती गर्न थालेको लामो समय भयो । हरेक वर्ष आलुबाट डेढ दुई लाख रुपैयाँ आम्दानी गर्ने रोकायाले यस वर्ष भने सडक नै नभएको भन्दै बारीबाट आलु निकाल्नुभएको छैन । छान्नामा आलुको भण्डार भनिने बामया लेकमा लगाएको आलुले यसपटक बजार नपाउने हो कि भनेर चिन्ता लागेको र सडक खुलेपछि सहज हुने उहाँले बताउनुभयो ।

‘अहिले बारीबाट आलु निकाल्ने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो,‘आलु ल्याएर घरमा कुहिनुभन्दा बारीबाट नै निकालेका थिएनौँ । अब बजार पुर्याउनका लागि सडक पनि खुल्यो । आलुले बजार पाउला भन्ने आशा छ ।’ रोकायाको बारीमा यो वर्ष ५० क्विन्टलको हाराहारीमा आलु फलेको छ । ‘एउटै बोटमा पनि राम्रै फल लागेको छ, त्यसमा पनि ठूला ठूला दाना’, रोकायाले भन्नुभयो, ‘पुरै गणा (बारी) को आलु निकाल्दा त ५० क्विन्टलभन्दा बढी हुन्छ ।’

गडरायमा हिक्मत जस्तै सात/आठ जना कृषकको बारीमा सयौँ क्विन्टल आलु निर्यात गर्ने तयारी भएको रोकायाले बताउनुभयो । थापा र रोकाया जस्तै बझाङमा सयौँ कृषक छन् । वर्षायाम भएको हुँदा उत्पादन गरेको तरकारी थन्किएको र अब निर्यात हुने कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत टेकबहादुर विष्ट बताउनुहुन्छ । उहाँका अनुसार सडक अवरुद्ध भएर सयौँ क्विन्टल आलु रोकिएको थियो ।

अब सडक खुलेपछि अन्य जिल्लामा पठाउन सकिने उहाँले बताउनुभयो । ‘कृषि ज्ञान केन्द्र बझाङले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्नेछ’, उहाँले भन्नुभयो,‘हामी किसानको तरकारी किनेर बेच्दैनौँ । बजारका लागि समन्वय गरेर ढुवानी गरिदिन्छौँ ।’ बझाङको उत्पादन निर्यात गर्नका लागि कैलालीमा डिपो बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

आलु जोनको सहयोगमा मात्रै हजार क्विन्टल आलु निर्यात

बझाङबाट आलु जोनको सहयोगमा मात्रै एक हजार क्विन्टल आलु निर्यात भएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको कृषकको आलु डडेल्धुरा, कैलाली, चितवनलगायतका स्थानमा निर्यात भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (आलु जोन कार्यक्रम) प्रमुख सविता जोशीका अनुसार यस सिजनमा मात्रै बझाङमा उत्पादन भएको आलु कोल्डस्टोरसहित एक हजार क्विन्टल बाहिर पठाइएको छ ।

‘आलु जोनको सहयोगमा बझाङबाट एक सय क्विन्टल डडेल्धुरा र एक सय क्विन्टल पहलमानपुरको कोल्डस्टोरमा बीउका लागि पठाएका छौँ’, उहाँले भन्नुभयो,‘बाँकी आठ सय क्विन्टल कृषकको आलु कैलालीमा पठाएका छौँ ।’ अघिल्लो वर्ष आलु जोनले छ पालिकाका तीन सय २० घरधुरीमा गरिएको सर्वेक्षणअनुसार दुई दशमलव ७८ रोपनीमा आलुखेती गरिन्थ्यो ।

अहिले जिल्लाभर पाँच सय हेक्टर जमिनमा आलुखेती गरिँदै आएको उहाँले बताउनुभयो । पाँच सय हेक्टर जमिनमा १० हजार टन आलु उत्पादन हुने विश्वास लिइएको एकाइ प्रमुख जोशीले बताउनुभयो । ‘लेकाली आलु कृषकले बीउका लागि पनि त्यत्तिकै मात्रामा छुट्याउने गर्छन्’, उहाँले भन्नुभयो,‘कृषकले बीउलाई छुट्याएर बिक्री गर्ने आलु मात्रै जोनको सहयोगमा निर्यात हुने हो ।’