जनता टाइम्स

२४ आश्विन २०७९, सोमबार ११:२३

यी हुन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एमालेका ११ महिला उम्मेदवार


काठमाडौं, असोज २४ । नेकपा एमालेबाट ११ जना महिला नेतृहरुले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन । एमालेले भूगोलमा राम्रो पकड भएका महिला नेतृहरुलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको हो ।

पद्माकुमारी अर्याल, स्याङ्जा २

नेकपा एमालेको पहिलो जिल्ला अध्यक्ष बनेर चर्चामा आउनु भएकी एमाले सचिव पद्माकुमारी अर्याल पुनः पुरानै क्षेत्र स्याङ्जा २ मा उम्मेदवार बन्नुभएको छ । उहाँको पहिलो चुनाव नै कांग्रेसका हेबिवेट नेता गोपालमान श्रेष्ठसँगको प्रतिस्पर्धाबाट शुरु भएको थियो ।

नेतृ अर्याल स्याङ्जा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ दोस्रो पटक चुनाव लड्दा प्रतिस्पर्धी भने फेरिएका छन् । यसअघि २०७४ मा बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजीत गर्नुभएकी अर्यालसँग यसपटक नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अर्याल नेकपा सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्नुका साथै चुच्चे नक्सा जारी गर्ने मन्त्रीका रुपमा समेत चर्चित हुनुहुन्छ । नेपालको चुच्चे नक्सा भूमि व्यवस्था मन्त्रालयबाट उहाँकै नेतृत्वमा प्रकाशन भएको थियो भने सगरमाथाको उचाई मापनको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो ।

भगवती चौधरी, सुनसरी ३

एमाले नेतृ भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएको छ । चाौधरीसँग कांग्रेस नेता विजयकुमार गच्छदार प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । भ्रष्टाचारको आरोपमा बिशेष अदालतले दोषी ठहर गरेका गच्छद्धारलाई नै कांग्रेसले उम्मेदवार बनाएको हो ।
चौधरीको गच्छदारसँग यो तेस्रो पटक प्रतिस्पर्धा हो । गच्छदारको भने २०४८ देखि लगातार सातौँ पटक उम्मेदवारी हो ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अदालतको आदेशले निलम्बनमा रहनुभएका गच्छदारलाई नै कांग्रेसले टिकट दिएपछि उहाँहरुबीच पुनः प्रतिस्पर्धा हुनलागेको हो ।

निरु पाल, कञ्चनपुर ३

एमाले पोलिटव्युरो सदस्य निरुदेवी पाल कञ्चनपुर ३ बाट उम्मेदवार बन्नुभएको छ । पालको दोस्रो पटक प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको हो । एक पटक समानुपातिकतर्फबाट सांसद भई संसदीय समितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएकी पाल कांग्रेसका नेता रमेश लेखकसँग दोस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सो क्षेत्रमा कांग्रेसबाटै बागी उम्मेदवार रहेकोलेपालको सहज जीत हुने बिश्वास गरिएको छ ।

जुलीकुमारी महतो, धनुषा ३

जुली महतो धनुषा ३ बाट दोस्रो पटक प्रत्यक्षतर्फ चुनावमा उत्रनुभएको छ । उहाँ दुई पटक समानुपातिकबाट सांसद बन्नुभएको थियो ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो (उद्योगपति) की बहिनी समेत रहनुभएकी महतो केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ धनुषा ३ बाट उम्मेदवार बन्दै गर्दा हेबिवेट नेताहरू विमलेन्द्र निधी र राजेन्द्र महतोले मैदान छाडनुभएको छ ।

शान्ता चौधरी, दाङ १

एमालेको प्रमुख सचेतकको भूमिकामा रहिसक्नुभएकी पोलिटब्यूरो सदस्य शान्ता चौधरी दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको छ । प्रत्यक्षतर्फ यो उहाँको दोस्रो पटक हो । २०७० मा हार व्यहोर्नु भएकी चौधरी पहिलो संविधान सभाको सदस्य समेत हुनुहुन्छ ।

समानुपातिकबाट उहाँ सांसद बन्नुभएको थियो । दाङ, लक्ष्मीपुर निवासी चौधरी आठ वर्षको उमेरदेखि २५ वर्षसम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गर्नुभएको थियो ।

ज्वालाकुमारी साह, बारा ३

ज्वाला कुमारी साहलाई एमालेले यस पटक बारा क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । २०६४ सालमा माओवादीबाट चुनाव जित्नुभएकी साहले २०७० को निर्वाचनमा भने पराजय बेहोर्नुपरेको थियो ।

२०७४ मा भएको प्रदेशसभा चुनावमा बाम गठबन्धनबाट साहले जित हात पार्नुभयो । ज्वाला नेकपा विभाजनको बेला प्रदेश सांसदको पद त्यागेर नेकपा एमालेमै रहनुभएको हो । उहाँ यसबीचमा मधेस प्रदेश अध्यक्ष हुँदै हाल एमालेको पोलिटव्युरो सदस्य हुनुहुन्छ ।

मञ्जु चौधरी, उदयपुर १

मञ्जु चौधरी उदयपुर १ बाट प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक उम्मेदवार बन्नुभएको छ । चौधरीले २०७० सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा जित हात पारे पनि २०७४ सालमा भने नेपाली कांग्रेसका नेता तथा हालका परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजीत हुनुभयो । यस पटक पनि चौधरी र खड्काकै बीचमा प्रतिस्पर्धा हुन लागेको छ ।

विद्या भट्टराई, कास्की २

एमाले नेतृ तथा तात्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई दोस्रो पटक कास्की २ मा उम्मेदवार बन्नुभएको छ ।

तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको ठाउँमा उपचुनाव जितेपछि राजनीतिमा कम ब्याक हुनुभएकी बिद्या यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्नुभएको हो । उहाँ बिद्यार्थी आन्दोलनका चर्चित नेतृसमेत हुनुहुन्छ ।

गौरी ओली, डोटी

गौरी वली डोटीबाट चुनावमा होमिनुभएको छ । एक पटक समानुपातिकबाट सांसद हुनुभएकी अ‍ोली एमाले केन्द्रीय सदस्य पनि हुनुहुन्छ । पहिलो पटक प्रत्यक्ष उम्मेदवारी दिनुभएकी ओली सत्ता गठबन्धनका अश्लिल गालीगलोजका पण्डितका रुपमा रहनुभएका प्रेम आलेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहँदा आलेले अश्लिल गालीगलोज गरेको अडियो र भिडियो नै सार्वजनिक भएको थियो ।

कोमल ओली, दाङ ३

एमाले केन्द्रीयसदस्य तथा पूर्वसञ्चारकर्मी एवं गायिका कोमल वली यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएको छ । एमालेले वलीलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको हो । अघिल्लो निर्वाचनमा उहाँ यही क्षेत्रबाट चुनाव लड्ने तयारी गर्नुभएको थियो ।

मञ्जु शर्मा चालिसे, बागलुङ २

मञ्जु शर्मा चालिसे बाग्लुङ २ बाट उम्मेदवार बन्नुभएको छ । केही समयअघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गर्नुभएकी चालिसे यसअघि स्थानीय तहको चुनावमा गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार बनेर ३२६५ मत पाउनु भएको थियो ।