धनगढी, असोज २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकटविहीन बनेका छन । २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ख बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट यसपटक टिकटविहीन बन्नुभयो ।
उहाँको ठाउँमा यसपटक माओवादी केन्द्रबाट उहाँकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाउनु भयो । बझाङको प्रदेश सभा क बाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका सभामुख बन्नुभएका अर्जुनबहादुर थापा पनि यसपटक टिकटविहीन बन्नभएको छ । एमालेबाट चुनाव लडेका सभामुख थापाले जितेको स्थानमा यसपटक एमालेले छविलाल ओखेडालाई टिकट दिएको छ ।
प्रदेशकी उपसभाुमख निर्मला बडाल जोशी पनि यसपटक टिकटविहीन बन्नुभयो। उहाँ २०७४ को निर्वाचमा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बन्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बनेका कृष्णराज सुवेदी पनि यसपटक उम्मेदवारको सूचीबाटद हटनु बाध्य हुनुभयो । २०७४ को निर्वाचनमा कैलाली ४ को प्रदेश निर्वाचन क्षेत्र ख बाट उहाँ निर्वाचित हुनुभएको थियो । अहिले सो क्षेत्रबाट एमालेका हरिसिंह साउद उम्मेदवार बन्नुभएको छ ।
बाजुराबाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रकाश शाह पनि यसपटक टिकटविहीन बन्नुभएको छ । उहाँको स्थानमा बाजुराबाट लालबहादुर थापा चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँले बाजुराको प्रदेश निर्वाचन क्षेत्र ख बाट चुनाव जित्नुभएको थियो ।
यस्तै माओबादीको समानुपातिक कोटाबाट सांसद बनेकी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी विनीता चौधरी यसपटक माओवादीको समानुपातिक सूचीमा समेत अटाउन सक्नुभएन ।
सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी माया भट्ट पनि उम्मेदवार हुनुहुन्न । उहाँलाई एमालेले बैतडीबाट समानुपातिक सांसद बनाएको थिए । अहिले उहाँ एकीकृत समाजवादी पार्टीमा हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेश सरकारको पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले पनि यसपटक टिकट पाउनु भएन । उहाँ २०७४ मा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य बन्नुभएको थियो । हाल उहाँ एकीकृत समाजवादी पार्टीमा आबद्ध हुनुहुनछ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री बनेका टेकबहादुर रैका पनि टिकटविहीन बन्नुभएको छ । रैका २०७४ मा कांग्रेसको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बन्नुभएको थियो ।
प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी पनि य पटक टिकटविहीन बन्नुपरेको छ । एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बन्नुभएकी चौधरी हाल एकीकृत समाजवादी पार्टीमा आवद्ध हुनुहुन्छ ।
सुदूरपशिचम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरा पनि यसपटक टिकटविहीन बन्नुपरेको छ । उहाँ एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बन्नुभएको थियो ।
समाुनपातिक कोटाबाटै प्रदेश सभा सदस्य बनेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएकी अर्चना गहतराजले पनि टिकट पाउनु भएन । त्यसैगरी सामाजिक विकास राज्यमन्त्री बन्नुभएकी मनाकुमारी साउद पनि टिकटविहीन हुनुहुन्छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री बनेकी सुशीला बुडाथोकी र आर्थिक मामिला तथा योजना राज्य मन्त्री बनेका बदलेव सोडारीले पनि टिकट पाउनु भएन ।













प्रतिक्रिया दिनुहोस्