जनता टाइम्स

२५ आश्विन २०७९, मंगलवार १४:२८

इश्वर पोखरेल र प्रदीप पौडलको जम्काभेटमा जे देखियो


काठमाडौं, असोज २५ । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहनु भएका नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र नेपाली कांग्रेसका नेता प्रदीप पौडेलबीच चुनावी अभियानका क्रममा जम्काभेट हुँदा रोचक माहोल बन्न पुगेको छ ।

पोखरेल र पौडेलबीच बूढानीलकण्ठ नगरपालिका–४ का कांग्रेस वडा कार्यसमिति सदस्य पवन कार्कीको निवासमा मंगलबार बिहान जम्काभेट भएको हो। भतिजाको किरियापुत्री बस्नुभएका कार्कीलाई समवेदना प्रकट गर्न गएका बेला दुवै नेताको भेट भएको हो । भेटका क्रममा दुवै प्रतिष्पर्धीबीच निर्वाचनसम्बन्धी सामान्य कुराकानी भएको थियो ।

भेटमा कांग्रेस नेता पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलसँग मैत्रीपूर्ण प्रतिस्पर्धाबारे कुरा गर्नुभएको थियो । पौडेलले पोखरेलसँग आफूले आसन्न निर्वाचनमा मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि आग्रह गरेको बताउनु भयो ।

‘किरियापुत्री भेट्न जाँदा हामीबीच भेट भएको हो,’ उहाँले भन्नुभयो, ‘मैले मैत्रीपूर्ण प्रतिस्पर्धा गरौं भनेको हुँ।’ पौडेललाई पोखरेलले आफू पनि मैत्रीपूर्ण प्रतिस्पर्धामै बिश्वास गर्ने भन्दै मुस्कानसहित जवाफ फर्काउनु भएको थियो ।

काठमाडौं ५ बाट पोखरेल गत निर्वाचनमा बिजयी हुनुभएको थियो । गत स्थानीय तहको निर्वाचनमा पोखरेलको सो निर्वाचन क्षेत्रका अधिकांश वडाहरु एमालेले जितेको छ । काठमाडौं ५ एमालेको सुरक्षित क्षेत्र मानिन्छ ।