जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १३:५६

मदनको शालिकसामू पर्यटनमन्त्री भट्टराईको अठोट : जुन दिन काम गर्न सकिनँ भन्ने लाग्छ, मन्त्री पद त्याग्नेछु


काठमाडौं, साउन १६ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पद सम्हालेको भोलिपल्टै भट्टराईले यस्तो घोषणा गर्नुभएको हो ।

सामाजिक सञ्जालमा आएको बधाईलाई चुनौतीका रुपमा लिनुभएका नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले आफू काम गर्न आएको भन्दै प्रधानमन्त्री र सिंगो देशको अपेक्षा पूरा गर्ने काममा लाग्ने भन्दै सो घोणा गर्नुभएको हो । मन्त्री भएको भोलिपल्ट आज जननेता मदन भण्डारीको शालिक रहेको तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुमा श्रद्धाञ्जली अर्पणपछि उहाँले यस्तो घोषणा गर्नुभयो । ‘जुन दिन मैले काम गर्न सकिनँ भन्ने लाग्छ अथवा असफल हुन्छु, मन्त्री पद त्याग्नेछु,’ नवनियुक्त पर्यटनमन्त्री भट्टराईको घोषणा थियो ।

उहाँले प्रधानमन्त्री ओलीबाट पनि यही निर्देशन आउने पूर्वानुमान गर्नुभयो । ‘सायद प्रधानमन्त्रीले मलाई दिने निर्देशन, करार पनि त्यही हुन्छ, त्यही अनुसार म काम गर्छु,’ भट्टराईले भन्नुभयो । प्रधानमन्त्री ओलीले भट्टराई मन्त्री नियुक्त हुनुअघि बुधबार नै अन्य मन्त्रीहरुसँग करार सम्झौता गरिसक्नुभएको छ । पर्यटनमन्त्री बनेपछि धेरैले बधाइ दिएको प्रसंगमा उहाँले ठुलो चुनौतीका रुपमा ग्रहण गरेको प्रष्ट पार्नुभयो । ‘सोसल मिडियामा धेरै ठूलो बधाइ मलाई प्राप्त भएको छ, त्यो बधाइ मेरो लागि निक्कै ठूलो चुनौती लाग्छ,’ भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले आफू सरकारले राम्रो काम गरोस भनेर सधै आलोचक तर कठोर समर्थक भएको जानकारी पनि दिनुभयो । उहाँले केही दिनभित्रै आफूले गर्ने कामसहितको प्रतिबद्धता पत्र र मन्त्रालयका कतिपय विवादास्पद कुराहरुको बिषयमा धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको कामलाई तीव्रता दिने प्रष्ट पार्नुभयो ।