जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १५:४३

चितवन–३ का एमाले उम्मेदवार न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, गठबन्धनका बागी उम्मेदवार कोइरालालाई समर्थन


चितवन, असोज २६ । चितवन क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

न्यौपानेले उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्नुभएको छ । एमाले चितवनका अध्यक्ष समेत रहनुभएका न्यौपानेले पार्टी केन्द्रको निर्णय अनुसार उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको बताउनु भयो ।

‘पार्टी र देशको समसामयिक परिस्थितिलाई ध्यानमा राखेर लिइएको यो निर्णयबाट म प्रशन्न छु, हामी दिनेश कोइरालालाई जिताउँछौं,’ न्यौपानेले भन्नुभयो । उहाँले उम्मेदवारी फिर्ता लिएको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा इमेलमार्फत पत्र पठाउनु भएको छ ।

न्यौपानेको उम्मेद्वारी फिर्ता र कोइरालालाई समर्थनसँगै प्रतिष्पर्धा रोचक हुने देखिएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र राप्रपाबाट केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा कांग्रेसबाट विद्रोह गर्नुभएका दिनेशसहित १२ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुभएको छ ।