काठमाडौं, असोज २६ । नेकपा एमालेले अन्तिम समयमा प्रतिनिधिसभाका ३ र प्रदेश सभाका १ जना उम्मेदवार फिर्ता गरेर अन्य समूहसँग तालमेल गरेको छ ।
उम्मेदवारी फिर्ता लिने अन्तिम दिन आज एमालेले नेपाली कांग्रेस विपी, बिद्रोही कांग्रेस समुह, राप्रपा र हृदयेश त्रिपाठीसँग सहकार्य गर्दै आफ्ना उम्मेदवारहरुलाई फिर्ता गरेको हो ।
एमालेले डडेलधुरामा नेपाली कांग्रेस विपीका कर्ण मल्ललाई समर्थन गर्दै प्रतिनिधिसभामा चक्र वहादुर स्नेहीको उम्मेदवारी फिर्ता लिएको छ । नेपाली कांग्रेस डडेलधुराकै पूर्वसभापति मल्ल कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । डडेलधुरामा प्रधानमन्त्री देउवालाई टेलिभिजन कार्यक्रममै र्याखर्याख्ती पार्ने चर्चित युवा तथा सामाजिक अभियन्ता सागर ढकाल पनि उम्मेदवार हुनुहुन्छ ।
एमालेले यसअघि सूर्य चिन्हमै चुनाव लडनुभएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गर्दै सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता भएको छ । त्रिपाठीसँग अर्बपति ब्यापारी गठबन्धनका उम्मेदवार विनोद चौधरी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
यसैगरी चितवन क्षेत्र नम्बर ३ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका दिनेश कोइरालालाई समर्थन गरेको छ । सो समूहले क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
प्रदेश सभा तर्फ एमालेले धादिङ–२ को प्रदेश क का उम्मेदवार धनबहादुर घलेको उम्मेदवारी फिर्ता भएको छ । सो क्षेत्रमा राप्रपाका डम्बर तामाङलाई एमालेले सघाउने भएको छ । त्यसको सट्टा राप्रपाले प्रतिनिधि सभामा एमालेका खेम लोहनीलाई सघाउने भएको छ । प्रतिनिधि सभा सदस्यको लागि राप्रपाका उम्मेदवार पर्शुराम तामाङले दर्ता गर्नुभएको मनोनयन फिर्ता लिनुभएको छ ।
धादिङ २ को प्रदेश ख मा पनि राप्रपाले एमालेलाई सघाउने भएको छ । राप्रपाका मोहन पोखरेलले एमालेका डा. रामकुमार आधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिनुभएको छ । चुनावमा गठबन्धनका उम्मेदवारलाई पराजीत गर्नका लागि एमालेले अन्तिम समयमा यस्तो निर्णय लिएको हो ।













प्रतिक्रिया दिनुहोस्