कास्की, असोज २८ । कास्की क्षेत्र नं २ बाट एमालेकी प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या भट्टराईले मङ्सिर ४ मा हुने चुनावमा नेकपा एमालेको जीत अनिवार्य रहेको बताउनु भएको छ । उहाँले चुनाव एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियान भएको र मुलुकको समृद्धिका लागि जीत अनिवार्य रहेको बताउनु भयो ।
नेकपा एमाले कास्की क्षेत्र नं २ ले आयोजना गरेको चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै भट्टराईले सो अभियानका अभियन्ता एमाले कार्यकर्ता भएको प्रष्ट पार्नुभयो । प्राध्यापन पेसा छाडेर पार्टी राजनीतिमा होमिनुभएकी भट्टराई एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी हुनुहुन्छ ।
अधिकारीको पर्यटन मन्त्री हुँदा पाथीभरा जाने क्रममा हेकिप्टर दुर्घटनामा ज्यान गएको थियो । उहाँको निधन पछि रिक्त रहेको सो क्षेत्रको उपचुनावमा यस अघि पनि एमालेले उहाँलाई लडाएको थियो र भट्टराई विजयी हुनुभएको थियो । यस पटक पनि कास्की २ बाट एमालेले उहाँलाई उम्मेदवार बनाएको छ ।
अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गर्नुभएकी भट्टराई अनेरास्ववियुको केन्द्रिय सचिव, अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी सदस्य, बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो । त्रिविको प्राध्यापक भए पछि भने उहाँ पार्टीको खुल्ला राजनीतिमा देखिनुभएको थिएन ।
त्यस बेला आफू पार्टीको अचल सम्पत्तिको रूपमा रहेको भट्टराईले बताउनुभयो । ‘म एउटा पार्टीका अचल सम्पत्तिको रूपमा पार्टीमा काम गरिरहेको थिएँ, मलाई बाहिर ल्याउँदा म त्यो सम्पत्ति हो कि होइन भन्ने पहिचान थिएन, त्यो अचल सम्पत्तिलाई तपाईँहरूले चल सम्पत्ति बनाउनुभएको छ’, भट्टराईले भन्नुभयो ।
आफूले २ वर्ष बढी प्रतिनिधि सभा सदस्य भएर काम गरेको भए पनि पुनः पार्टीले आवश्यकता महसुस गरी प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको भट्टराईले बताउनुभयो । देशको लागि एमालेले जित्नु पर्ने भएकाले कास्कीका सबै निर्वाचन क्षेत्रमा एमालेलाई जिताउने गरी चुनावी अभियानमा लाग्नु पर्ने भट्टराईको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्