जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार २०:३७

चितवन ३ का उम्मेदवार कोइरालाको अठोट : अंश-वंश र अर्थको भरमा राजनीति चल्न दिन्नौं


चितवन, असोज २८ । चितवन ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले अंश, वंश र अर्थको भरमा राजनीति चल्न नदिइने बताउनु भएको छ । कोइरालाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ३० वर्षे राजनीतिक यात्रालाई दाउमा राखेर विकृत प्रथाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भयो।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीविरुद्ध बागी उम्मेदवारी दिएका कोइरालालाई कांग्रेसले पाँच वर्षका लागि निलम्बन गरिसकेको छ । कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ खुला केन्द्रीय सदस्यमा निर्वाचित कोइराला संस्थापन इतर समूहका नेता हुन् । बोल्न सुरु गरेपछि भावुक बनेका उहाँले आफ्नो उम्मेदवारी बागी र विद्रोही भन्दा धेरैमाथि भएको बताउनु भएको छ ।

गठबन्धन देश विकासको निम्ति नभई सीमित परिवारका लागि मात्रै भएकोले आफू त्यो बाटोमा जान नसकेको उनले बताए । ‘४२ वर्षको उमेरमा आमा गुमाउँदा पनि त्यति रोएको थिइन, जति अहिले रुँदै छु’, उहाँले भन्नुभयो, ‘पार्टीभित्र बोलेका कुरा कसैले नसुनेपछि पिँजडाको सुगा र अन्य पार्टीको दास बन्न नसकेर यो निर्णय गर्न बाध्य भएको छु ।’

एक सांसदको लागी मात्र उम्मेदवारी नदिएको भन्दै उहाँले लोकतन्त्रको खोल ओढेको राणाशासन अब चल्न नदिने बताउनु भयो । अंश, वंश र अर्थको आधारमा राजनीति चल्न नदिने, गिरोहलाई देश चलाउन नदिने र पारिवारिक शासन चल्न नदिने आफ्ना मुख्य एजेण्डा रहेको कोइरालाले स्पष्ट पारेका छन् ।

अहिलेको परिवेशमा कांग्रेस र एमाले देशको वर्तमान र भविष्य भएको उहाँले बताउनु भयो । यी दुई पार्टीलाई सही बाटोमा नहिँडाई देश ठिक बाटोमा हिँड्न नसक्ने भन्दै उहाँले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरेर शान्तिपूर्ण तथा रचनात्मक क्रान्ति गर्न पार्टीलाई सुधार्नुपर्ने बताउनु भयो ।

‘सीमित परिवारका लागि मात्र लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा कुनै हालतमा मान्य हुँदैन’, उहाँले भन्नुभयो । राष्ट्रिय राजनीतिमा चितवनले हस्तक्षेप गर्ने उहाँको दाबी छ ।

‘हिजो हजारौँ मान्छे मारेर क्रान्ति गरेको भन्दै भ्रम फैलाउनेहरूले परिवार पोसे, देश लुटे, देश र समाज भत्काए, जनतालाई रुवाए । अब सांसदलाई विकृति र लुटको अखडा बनाउन दिइने छैन’, कोइरालाले भन्नुभयो, ‘यसको अगुवाइ चितवन क्षेत्र नम्बर ३ का जनताले गर्नेछन् ।’