जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार ११:५९

एमालेको किल्ला बन्यो बलबहादुर राईको मोली गाउँ, कांग्रेस माओवादीका सवै नेता कार्यकर्ता गरे प्रवेश


ओखलढुंगा, असोज २९ । केही वर्षअघिसम्म एमालेको संगठन कमजोर रहेको ओखलढुंगाको मोली एमालेमय बनेको छ ।

नेपाली कांग्रेसका स्वर्गीय नेता बलबहादुर राईको गाउँ मोलीमा केही समय अघिसम्म एमालेको उपस्थिति कमजोर थियो । चुनावको मुखैमा कांग्रेस र माओवादीका प्रभाशाली नेताहरु एमालेमा प्रवेश गरेपछि मोली एमालेमय बनेको हो ।

चुनावी अभियानकै क्रममा शुक्रवार कांग्रेस, माओवादीका करिब २ सय नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । माओवादी नेता सुजन रुम्दालीसहितका माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।

प्रवेश गर्नेहरु धेरैजसो कांग्रेसका नेता कार्यकर्ता रहेको एमाले संगठन विभाग सचिव गोपाल नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार नवप्रवेशीहरुले कांग्रेसले माओवादीसँग गरेको गठबन्धन पवित्र नभएको र जिल्लाको विकासमा एमालेका नेताहरुले भुमिका खेलेको भन्दै एमाले जिताउन पार्टी प्रवेश गरेको बताएका छन ।

ओखलढुंगा एमालेको लालकिल्ला बन्ने यज्ञराजको उदघोष

कांग्रेस माओवादीका नेता कार्यकर्ता प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञराज सुनुवारले ओखलढुंगा जिल्ला एमालेको लालकिल्ला बन्ने उदघोष गर्नुभयो । कुनै समय कांग्रेसको किल्ला भनेर चिनिने जिल्लामा बलबहादुर राईको गाउँबाट एमालेको किल्ला स्थापित भएको सन्देश गएको उहाँको भनाइ छ ।

‘म २०७० सालमा निर्वाचित भएर एमालेको खाता खोलेँ, २०७४ मा संघमा मैले र प्रदेश क मा माननीय अम्बिर गुरुङले जित्नुभयो, अब मंसिर ४ पछि जिल्लाका तीनै सिटमा एमाले विजयी हुन्छ । आज मोलीले त्यसको संकेत गरिसक्यो,’ सुनुवारले भन्नुभयो, ‘हामी जनताका दुख सुखमा सँगै छौं । एमालेले जितेपछि विकासको मुल फुटेको छ त्यो सबैलाई थाहा छ मतदाता सुर्यमा भोट हाल्न आँतुर छन् ।’

कार्यक्रममा प्रदेशसभाका उम्मेदवार जिवि खड्काले एमालेको पक्षमा जनलहर देखिएको बताउनु भयो । निश्वार्थ जिल्लाको विकास गर्न आफुहरु मैदानमा उत्रिएको बउहाँको भनाइ छ ।

एमाले केन्द्रीय सदस्य किशोर अधिकारीले एमालेले ३ प्रत्यक्ष र १ समानुपातिक गरि जिल्लाबाट ४ सांसद पाउने भन्दै एकजुट भएर चुनावी मैदानमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।