जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार ०७:५५

नियमित स्वास्थ्य परीक्षणका लागि आज राति सिंगापुर जाँदै प्रधानमन्त्री ओली


काठमाडौं, साउन १८

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षण गर्न आज राति सिंगापुर जादै हुनुहुन्छ । राति पौने दश बजे उहा सिल्क एयरको उडानबाट सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्नुहुनेछ ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ । स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लाग्नु भएका प्रधानमन्त्री ओली करिव एक साता बस्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको के–के परीक्षण गरिने भन्नेबारे सार्वजनिक गरिएको छैन । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उहा थप फलोअपका लागि जान लाग्नु भएको हो । छाउनीमा ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । उहाको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ ।

चिकित्सकहरूका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकालिन्छ । कहिलेकाहीँ यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ । मिर्गौलाले राम्ररी काम गरेको छ छैन भनेर सुरुमा परीक्षण गरिन्छ ।

प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो । त्यसपछि निकै लामो समय उपचार गरेर निको भएको थियो ।

प्रधानमन्त्री ओलीले दिल्ली र थाइल्यान्डमा गएर उपचार गर्नुभएको थियो । त्यसपछि नियमित फलोअपका लागि थाइल्यान्ड जाने गर्नुभएको थियो । गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा परीक्षण गराउनुभएको थियो । प्रधानमन्त्री भएपछि भने कामका धपेडीले उहाँले नियमित परीक्षण गराउनसमय मिलाउनु भएको थिएन । चिकित्सकको निकै जोडबलपछि नियमित उपचारकालागि सिंगापर जान लाग्नुभएको हो ।