जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १५:३१

रत्नपार्कमा काग बोलाउँदै रमेश दुलालको १९ औँ काग सम्मेलन सम्पन्न


काठमाडौं, ६ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन काठमाडौंको रत्नापार्कस्थित शान्तिबाटिकामा १९औं ‘काग सम्मेलन’ सम्पन्न भएको छ । काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिबाटिकामा आज बिहान कलाकार रमेश दुलाल (कागे) ले काग बोलाएर १९ औं काग सम्मेलन सम्पन्न गर्नुभएको हो ।

एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामको दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । कार्यक्रमा उहाँले काग, मयुरको स्वर समेत निकालेर सुनाउनुभएको थियो ।

दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरूको बिदाइ र युवाहरूलाई अवसर भन्ने रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यसपालि बुढापाका नेताहरूलाई घरमै आराम गर्ने सन्देश दिन्छु । युवाहरूको जोस, जाँगरमा ध्यान दिनुपर्छ भन्ने सन्देश यस कार्यक्रममार्फत अवगत गराउँछु । अर्को वर्ष २० औं सम्मेलन भने भव्यरुपमा टुँडिखेल वा नारायणहिटीमा गर्ने सोच बनाएको छु ।

केही समयमा आज संसद भवन नै कागले अवरोध गर्छ भन्ने सोच बनाइरहेको छु । सिंहदरबार पनि घेर्ने निश्चित छ ।’ काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा–मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।