जनता टाइम्स

७ कार्तिक २०७९, सोमबार ०८:२२

तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई हटाउँदै जानु पर्दछ : राष्ट्रपति


काठमाडौं, कात्तिक ७ । राष्ट्रपति बिद्यादेवी भण्डारीले उज्यालो पर्व तिहारले सवै नेपालीजनलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस भन्ने शुभकामना दिनुभएको छ ।

तिहार पर्व, २०७९ को शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले जुवा तास खेल्ने जस्ता नकारात्मक प्रबृत्तिलाई भने क्रमशः हटाउँदै लैजानुपर्ने धारणा पनि राख्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, ‘तिहार पर्वले एकातिर प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मिय सम्बन्धलाई प्रगाढ बनाउँदछ । तिहारको अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेकोछ । यस प्रकारका असल परम्परा र अभ्यासलाई हामीले जोगाउनु पर्दछ । तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले क्रमश: हटाउँदै जानु पर्दछ ।’

सन्देशको पूर्णपाठ

नेपालीहरूको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्‍वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको ठूला चाडहरूमध्ये एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ । यमपञ्चकको रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार‚ कुकुर तिहार‚ गाई तिहार‚ गोरु तिहार र भाइ तिहार जस्ता विशिष्ट तिहारहरू समेटिएका छन् । यस पर्वको अवसरमा धन र ऐश्‍वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै सयपत्री र मखमली फूलको माला लगाई पूजा गरिनुका साथै देउसी–भैलो खेल्ने परम्परा रहेको छ ।

तिहार पर्वले एकातिर प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मिय सम्बन्धलाई प्रगाढ बनाउँदछ । तिहारको अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेकोछ । यस प्रकारका असल परम्परा र अभ्यासलाई हामीले जोगाउनु पर्दछ । तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले क्रमशस् हटाउँदै जानु पर्दछ ।

पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हो । ‍त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैमा प्रेरणाको विम्ब हो । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गर्दछु ।

अन्तमा, तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्‍वासका साथ पुनस् तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल कात्तिक ७ गते, सोमबार ।