काठमाडौं, कात्तिक ११ । नेपाली कांग्रेसको नीति र नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले एउटै निर्वाचन क्षेत्रमा दुई जना उम्मेदवारलाई आधिकारिक मानेर सूची सार्वजनिक गरेको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले आफूहरुलाई सहज हुने गरी एकल उम्मेदवार बनेर अन्य क्षेत्रमा भने दुई जनालाई आधिकारिक उम्मेदवार भन्दै ‘मित्रवत प्रतिस्पर्धा’ को नाम दिनुभएको हो ।
गठबन्धनले आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गर्दा काठमाडौंमा भने भाँडभैलो भएको छ । काठमाडौंका एउटा प्रतिनिधिसभासहित केही प्रदेशसभाका निर्वाचन क्षेत्रमा दुई उम्मेदवार अघि सारेर मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको हो । गठबन्धनको भागबण्डा नमिलेपछि पार्टीकै टिकट लिएर उठेका केही उम्मेदवारलाई मित्रवत् प्रतिस्पर्धामा कायम राखेर अन्यको निष्क्रिय बनाइएको छ ।
देउवा–प्रचण्ड र माधवको सहमति अनुसार काठमाडौं १० मा प्रतिनिधि सभातर्फ कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रकी अन्जना विशुंखे दुवैलाई आधिकारिक उम्मेदवार मानेर मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।
सोही क्षेत्रमा प्रदेशसभा १ नम्बर क्षेत्रमा पनि कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दीलिप महर्जन उम्मेदवार हुनुहुन्छ ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुयाल दुवै आधिकारिक उम्मेदवार कायम रहनुभएको छ ।सो क्षेत्रमा गठबन्धनको भागबण्डाविपरीत कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र दुवै प्रदेशसभामा माओवादीका उम्मेदवार छन् ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसका श्याम खड्का र नेकपा एसका बालकृष्ण श्रेष्ठबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ भने क्षेत्र नम्बर ६ को प्रदेशसभामा पनि कांग्रेसका विष्णुभक्त फुयाल र माओवादी केन्द्रका प्रकाश फुयालबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको यो सूचीसँगै भित्रभित्रै ठूलो दरार आएको प्रष्ट भएको छ ।
यस्तै रुपन्देही २ मा पनि गठबन्धनभित्रै बिवाद देखिएको छ । तीन दलले जनमुक्तिका उम्मेदवारलाई सघाउने निर्णय गर्दा जनमोर्चाले नेमकिपालाई मत माग्दै आज बिज्ञप्ती निकालेको छ ।














प्रतिक्रिया दिनुहोस्