जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १३:२१

क्यावात सरकार ! हेलिकोप्टरबाट उद्दारले पाए सुत्केरी र नवजात शिशुले नयाँ जीवन


लमजुङ, साउन १९ । कम उमेरमै बच्चा जन्माएर बिरामी परेका सुत्केरी र बिरामी नवजात शिशुलाई हेलिकप्टरमार्फत उद्दार गरिएको छ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका ३ कोतोमा बस्दै आएकी सुत्केरी महिला र बिरामी बच्चालाई शनिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

मनाङ जिल्ला अस्पतालमा बच्चाको उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत उद्दार गरिएको स्थानीय प्रशासनले जनाएको छ । रोल्पाको सुनछहरी गाउँपालिका २ घर भई मनाङमा यार्सागुम्बा संकलनको क्रममा आउनुभएका १८ बर्षीया प्रमिशा बुढामगर र उहाँको बिरामी बच्चालाई उद्दार गरिएको जिल्ला अस्पताल मनाङका डा सन्तोष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिला बिहीबार बेलुका ५ बजे डेरामै सुत्केरी हुनुभएको थियो । समय नपुगी ७ महिना (२९ हप्ता २ दिन) मा जन्मिएको बच्चाको स्वास्थ्य अवस्था नाजुक भएको जानकारी पाएपछि मन्त्रालयमा उद्दारको पहल थालेको उहाँले बताउनुभयो ।

‘श्रीमानसंगै यार्सा टिप्नका लागि आउनुभएको रहेछ । महिना नपुगी घरमै सुत्केरी हुनुभएछ । बच्चाको स्वास्थ्यको बारेमा जानकारी पाएपछि हेलिकप्टरमार्फत उद्दारमा पहल गरेका हौं’ अधिकारीले भन्नुभयो, ‘शुक्रबार दिउँसो मात्र खबर पाएका थियौं । शनिबार विहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा पुर्यायौं ।’ उहाँका अनुसार बच्चाको अवस्था चिन्ताजनक थियो । सास फेर्न गाह्रो भएको थियो । बच्चा निलो भइसकेको थियो । सानो उमेरमा बच्चा जन्माएको र घरमै सुत्केरी गराउँदा यस्तो समस्या भएकाले तत्काल उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गर्नुपरेको थियो ।

बच्चा र आमालाई शनिबार विहान ९ बजेतिर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अञ्चल अस्पताल पुर्याएर उपचार अघि बढाइएको छ । मनाङबाट पोखरा पुग्न करिव आधा घण्टा लागेको उहाँले बताउनुभयो । विरामी बच्चा र आमासंगै पोखरा पुग्नुभएका डा। अधिकारीले बच्चाको स्वास्थ्य अवस्था सुधार भएको बताउनुभयो । मनाङका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार महिना नपुगी जन्मिएको बच्चाको स्वास्थ्य अवस्था चिन्ताजनक भएको जानकारी पाएपछि तत्काल उद्दारका लागि अनुरोध गरिएको थियो । बच्चाको स्वास्थ्य उपचार जिल्लामा सम्भव नभएको स्वास्थ्यकर्मीले बताएपछि पोखरा लैजान पहल गरिएको र हेलिकप्टरमार्फत उद्दार गरि पठाइएको उहाँले बताउनुभयो ।

प्रमिशाको श्रीमान ओमबहादुर बुढामगरका अनुसार आफु यार्सा संकलनका लागि लेकमा गएको बेलामा श्रीमती बिहीबार सुत्केरी भएको र छोरा सिकिस्तै भएपछि अस्पताल लगिएको थियो । मनाङको अस्पतालमा उपचार कठिन भएपछि सरकारी सहयोगमा पोखराको अस्पतालमा पुर्याइएको उहाँले बताउनुभयो । अस्पतालमा उपचार गर्न कठिन भएपछि उद्दारका लागि पहल गरिदिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

‘यार्सा संकलनको लागि बैशाखदेखि माथि बसेका थियौं । विहीबार म घरमा नभएको बेलामा बाबु जन्मिएछ । बाबुको स्वास्थ्य अवस्था कमजर भएपछि घरबेटीले अस्पताल लगेको रहेछ’ उहाँले भन्नुभयो, ‘सिकिस्तै भएपछि पोखरा लाने कुरा भएछ । अनि हेलिकप्टर मगाउनु भएछ । उद्दार नभएको भए के हुन्थ्यो, हुन्थ्यो । अस्पतालमा ल्याएका छौं ।’ उद्दार गरिदिएकोमा उहाँले धन्यावाद ज्ञापन गर्नुभएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले निकालेको हवाई उद्दार सम्बन्धी सूचनामा राष्ट्रिपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्दार सम्बन्धी कार्यविधि २०७५ देशका ३४ जिल्लामा पूर्ण र आंशिक रुपमा निःशुल्क हवाई उद्दार सेवा दिने उल्लेख छ । सोही कार्यक्रम अनुसार सुत्केरी आमा र बच्चाको उद्दार गरिएको हो ।