जनता टाइम्स

१४ कार्तिक २०७९, सोमबार १८:५८

तोसिमा कार्कीको रिट दर्ता, भोली नै पेसी


काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले आज सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च जानुभएको थियो ।

निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । डा. तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हो । नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मेडिकल काउन्सिलको सदस्य पद लाभको नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत जानुभएको थियो ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुग्नुभएको उहाँको रिट मंगलबारको पेसीमा राखिएको रिट निवेदक कार्कीले बताउनुभयो । भोली एक न्यायाधीशको इजलासमा उहाँको रिटमाथि सुनुवाइ हुनेछ । अन्तरिम आदेशको माध्यमबाट उम्मेदवारी कायम राख्न आदेश आएमा उहाँको उम्मेदवारी कायम रहन पनि सक्नेछ ।

यसअघि रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको रिटमा एक न्यायाधीशको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने दुई न्यायाधीशको इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको थियो । यद्यपि राजु गुरुङ र तोसिमा कार्कीको मुद्दाको प्रकृति फरक छ । रिटमा नेपाल मेडिकल काउन्सिलको बैठकमा भाग लिएवापत पाइने भत्ता लाभको पद हो कि होइन भनेर व्याख्या गर्नुपर्ने हुन्छ ।