जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार ११:५२

मंसिर ४ पछि बन्छ केपी ओलीकै नेतृत्वमा एमालेको सरकार : टोपबहादुर रायमाझी


अर्घाखाँची, कात्तिक १६ । नेकपा एमालेका सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार टाेपबहादुर रायमाझीले एमालेकाे विजयी यात्रालाई कसैले राेक्न नसक्ने बताउनुभएकाे छ ।

नेकपा एमाले सन्धिखर्क-१ ले मदन स्मृति भवन सन्धिखर्कमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै सचिव रायमाझीले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेले बहुमत ल्याउने बताउनुभयाे । जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जितेरै छाड्ने उहाँले बताउनुभयाे ।

एमालेको जित सुनिश्चित भएकाले मंसिर ४ काे चुनावपछि एमालेकाे सरकार बन्ने सचिव रायमाझीकाे भनाइ छ । सचिव रायमाझीले एमालेको पक्षमा देशव्यापी रुपमा जनलहर सिर्जना भएको पनि बताउनुभयो । एमालेकाे जित सुनिश्चित देखेर विपक्षीहरु आत्तिएका र जनतामाझ भ्रम फैलाइरहेका समेत उहाँले बताउनुभयाे ।

देशमा सामाजिक न्याय, सुशासन, विकास र समृद्धि एमालेले मात्रै दिन सक्ने भन्दै उहाँले एमालेको पक्षमा द‍ृढतापुर्वक उभिएर सूर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री तथा उर्जामन्त्री समेत रहनुभएका सचिव रायमाझीले जिल्लाको विकासको निम्ति आफूले धेरै मेहनत गरेको बताउनुभयाे । आफ्नाे पहलमा गाउँ-गाउँमा पुगेको सडक सञ्जाल, घरघरमा निर्माणाधीन पानीको धारा, सिंचाइ, तटबन्ध ,पर्यटन पूर्वाधार, कृषिमा नयाँ प्रविधि, निर्माणाधीन हवाई मैदान, नयाँ विद्यालय भवन, प्राविधिक शिक्षालय लगायत संरचना जनताले देखेका उहाँले बताउनुभयाे ।

जिल्लाकाे विकासका लागि काम गरेका कारण यसपटक पनि जनताले आफूलाई विजयी गराउने विश्वास सचिव रायमाझीले व्यक्त गर्नुभयाे ।