जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार १६:४६

बारा १ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलोमा


बारा,१६ कात्तिक । बारा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार अच्युत मैनाली र (ख) का जसपा उम्मेदवार सरोज यादवले घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । बुधवार दुवैजना सिम्रौनगढ नगरपालिकामा मतदातासमक्ष पुग्नुभएको थियो ।

उम्मेदवार मैनाली र यादवले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ र ७ को जानकीनगर झमानी, कवलपुर, पर्सा, सतुवाही, अम्मरपुर, सल्यमपुर र सिम्रौनगढ बजारमा मतदाता भेटघाट गर्नुभएको थियो । उम्मेदवार मैनालीले आफू निर्वाचित बनेपछि क्षेत्रको विकासमा नमुना काम गरेर देखाउने दाबी गर्नुभयो । उनले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको आरोप लगाउनुभयो ।

‘सिम्रौनगढ क्षेत्रलाई १७ वर्षसम्म विकासमा पछि पारियो,’ मैनालीले भन्नुभयो, ‘अब हामी निर्वाचित बनेपछि उनीहरू नै लज्जित हुने गरी काम गर्नेछौं ।’

निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको छ । प्रदेश (क) भन्दा तुलनात्मक रूपमा केही कमजोर मानिएको एमाले जसपासँगको चुनावी तालमेलपछि बलियो देखिएको छ । यो क्षेत्रमा सिम्रौनगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिका पर्छन् । दुबै पालिका जसपाका उम्मेदवार यादवको प्रभाव क्षेत्र मानिन्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उमाकान्त चौधरीसँग करिब पाँच हजार मतले पराजित एमाले उम्मेदवार मैनालीले जसपासँगको तालमेलपछि आफूले चुनाव जित्ने दाबी गर्नुभयो । तीनपटकसम्म चुनाव जितेर संघीय सरकारको पटकपटक मन्त्रीसमेत बनेका चौधरीले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको मतदाताको गुनासो छ ।