काठमाडौं, १७ कात्तिक । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स–सम्मान बिदा गर्न भन्दै माला लिएर लाइनमा बस्नुभएको छ । आज चुनावी प्रचारप्रसारका क्रममा डडेल्धुरा पुग्नुभएको देउवालाई स्वागतसहित बिदाई गर्न माला बोकेर लाइनमा बस्नुभएको हो ।
देउवाकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बसेपछि धेरैले अनौठो मानेका थिए । ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले देउवाविरुद्ध उम्मेदवारी दिएको बताउनुभएको छ । कतिसम्म भने उहाँले देउवालाई पराजित गरे दुई दिनसम्म उपवास बस्ने वाचासमेत गर्नुभएको छ ।
पछिल्लो समय उहाँ डडेल्धुरामा घर–घर पुगेर भोट मागिरहनुभएको छ । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आउनुभएको छ । तर देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल आज देउवाकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उहाँले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिनुभएको छ । देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उहाँ २० कात्तिकमा काठमाडौं फर्कने कार्यक्रम रहेको छ । देउवाविरुद्ध कांग्रेस बिपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्