जनता टाइम्स

१७ कार्तिक २०७९, बिहीबार १६:२५

राजन भट्टराईको ग्राफ उकालो लाग्दा गगन खस्किए, स्वतन्त्रसहित यस्तो छ काठमाडौं ४ को अंकगणित


काठमाडौं, कात्तिक १७ । चुनावको मिति नजिकिदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहोल निकै तात्न थालेको छ । पाँच बर्ष पहिलेकै चिर परिचित प्रतिस्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टन भट्टराई र नेपाली कांग्रेसका महामन्त्री गगन थापा यसपटक पनि पुनः प्रतिस्पर्धामा रहनुभएको र कतिपय चर्चित ब्यक्तिहरु स्वतन्त्र उम्मेदवार बनेर प्रचारमा आएपछि काठमाडौं ४ को चुनावी सरगर्मी ह्वात्तै बढेको हो ।

सत्ता गठबन्धनको साझा उम्मेदवार थापाले यसअघिको निर्वाचनमा भट्टराईलाई पराजीत गर्नुभएको थियो । मनोनयन दर्ताको अन्तिम समयमा काठमाडौं ४ छाडेर सर्लाही ४ मा उम्मेदवार बन्ने गगनको चाहना रहेको बाहिरिएपछि निकै चर्चा भएको थियो तर अन्तिममा गगन सोही क्षेत्रमा उम्मेदवार बनेपछि भट्टराई र थापाबीच कडा टक्कर देखिएको छ । संगठनात्मक अवस्था हेर्दा यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार भट्टराई र थापाबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

बिगतमा निर्बिकल्प देखिनुभएका थापालाई यसपटक निकै ठूलो समस्या आइलागेको छ । सो क्षेत्रमा निकै लोकप्रिय गगन केही साता यता आफ्नो लोकप्रियताको ग्राफमा ओरालो लाग्न थालेको पाइएको छ भने प्रतिस्पर्धी राजनको ग्राफ उकालो लागेको छ । कतिपय स्वतन्त्र उम्मेदवार पनि आफ्नो ग्राफ उकालो बढाउन लागिपरेको मतदातासँगको कुराकानीमा देखिएको छ ।

काठमाडौं ४ मा एमालेबाट राजन भट्टराई, गगन थापा, डा. ठाकुरमोहन श्रेष्ठ, नेमकिपाका रमेश डंगोल, लोसपाका भानुकुमार खडका, मौलिक जरोकिलोका नुमनाथ प्याकुरेल उम्मेदवार हुनुहुन्छ । यसैगरी हाम्रो नेपाली पार्टीका अर्चन शमशेर जवरा, पुनर्जागरण पार्टीका श्यामबाबु गौतम, नेपालका लागि नेपाली पार्टीका दिपककुमार पोखरेल, मितेरी पार्टीका राजेश भारती, नेकपा मालेका लिलामाया पौडेल, मंगोल नेश्नल अर्गानाइजेशनका लालकुमारी थापा राना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पिकेश परियार, राष्ट्रिय जनमुक्तिका चेतबहादुर आले उम्मेदवार हुनुहुन्छ ।

यस्तै एकीकृत शक्ति नेपालका नवराज भण्डरी, आमुल परिवर्तन मसिहा पार्टीका ध्रुवराज गिरी, जनसमाजवादी पार्टी नेपालका खुरहरि पुडासैनी उम्मेदवार हुनुहुन्छ । यस्तै स्वतन्त्रका रुपमा श्यामरा भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुन प्रसाई, रोहित डंगोल, रोशन बर्मा, हेमबहादुर बोम्जन, रबिन्द्रदेव ढकाल, महेश्वर केसी, नवराज थापा, कृष्णकुमार तामाङ, दिनेश चौलागाईं, काजीबहादुर कार्की र शिवेन्द्र केसी हुनुहुन्छ ।

सबै उम्मेदवार चुनावी प्रचारसहित घर दैलो अभियानमा रहँदा कसले कसको मत कति काट्ने भन्ने बेग्ला बेग्लै अड्कलबाजी भइरहेको छ । स्वतन्त्रतर्फबाट उठेका उम्मेदवारको मत धेरै आए बढी चर्चामा रहेका र सबैले जित्ने आँकलन गरिएका गगनलाई नै घाटा हुने देखिएको छ ।

२०७४ सालको निर्वाचनमा थापा २१ हजार ५५८ मतसहित विजयी भएका हुनुभएको थियो भने भट्टराईले १८ हजार १४० मत ल्याउनु भएको थियो । उहाँहरुबीच ३ हजार ४१८ मतान्तर रहँदा तेस्रो धेरै मत ल्याउने विवेकशील साझा पार्टीकी सुवुना बस्नेतले ३ हजार ४० र नेकपा मालेका गोवद्र्धन खड्काले १५४ मत ल्याउनु भएको थियो । यसरी गत प्रतिनिधि सभा निर्वाचनमा ४४ हजार ५८९ मत खसेको थियो ।

अघिल्लो निर्वाचनमा थापासँगै पराजित भट्टराई यसपटक जसरी पनि जित निकाल्ने भन्ने रणनीतिसहित चुनावी प्रचारमा हुनुहुन्छ । पराजीत भएपनि निरन्तर काठमाडौं ४ को बिकाशको नेतृत्व गरिरहेको कारण यसपटक मतदाता भट्टराईप्रति आकर्षित भएको देखिन्छन । त्यसमाथि गगनले काठमाडौं १ का उम्मेदवार रहनुभएका कांग्रेस नेता प्रकाशमान सिंहलाई हराउन निर्देशन दिएको भन्ने कुराले काठमाडौं कांग्रेस बृत्तमै हलचल मच्चिएको छ । जसरी पनि प्रकाशमानलाई हराउनु पर्छ भन्दै गगनले निर्देशन दिएको कुरा प्रकाशमानसम्म पुगिसकेको कांग्रेसकै नेताहरुले बताएका छ ।

आगामी मंसिर ४ गते हुने काठमाडौं–४ मा ६९ हजार ७५२ मतदाता रहेको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ । २०७४ को निर्वाचनमा ६३ हजार २१५ मतदाता थिए । यो पटक ६ हजार ५३७ मतदाता थपिएका छन् । थपिएका नयाँ मतदाता अधिकांश २१ देखि ४५ वर्ष उमेर समूहका छन । गत वैशाखको स्थानीय तह निर्वाचनमा यो निर्वाचन क्षेत्रका वडाअध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मानेर पनि को कति पल्लाभारी भन्ने विश्लेषण हुने गरेको छ ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर १, ७, ८ र ३० पर्छन् । यस्तै, बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् । बढी जनघनत्वका नक्साल, मित्रपार्क, पशुपती, ज्ञानेश्वर यही निर्वाचन क्षेत्रमा पर्छन् । गत स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा बुढानीलकण्ठ नगरपालिकामा एमालेको पकड बलियो छ । बुढानीलकण्ठको मेयर र उपमेयरमा एमाले निर्वाचित भएको थियो । यस्तै, बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ८, ९, १०, ११, १२, १३ मा एमालेकै वडाध्यक्ष विजयी भएका छन् । काठमाडौं महानगरको वडा नम्बर १ मा एमाले विजयी भएको थियो भने ७, ८ र ३० कांग्रेसले जितेको छ ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतभार हेर्दा यो क्षेत्रको सबैभन्दा ठूलो दल एमाले हो । एमाले एक्लैको १६ हजार ५८७ मत छ । यस्तै, दोस्रोमा कांग्रेसको १५ हजार ७३३ छ । तेस्रोमा नेकपा एकीकृत समाजवादी छ । समाजवादीले ल्याएको मत २ हजार ४१४ छ । चौथोमा रहेको राप्रपाले २ हजार ११८ मत छ । माओवादी केन्द्रले ६१७, जसपाले ३१७ र लोसपाले २३ मत पाएका छन ।

स्थानीय तहको निर्वाचनपछि काठमाडौं ४ मा नेकपा एसतिर लागेका अधिकांश नेताहरु एमाले फर्किसकेका छन । यस हिसावले पनि गठबन्धन र एमालेको मत परिणाम बरावर रहेको छ । स्वतन्त्र उम्मेदवारले पनि गगनकै मत काटन देखिन्छ भने यसअघि लगातार जितेर थापाले केही काम नगरेको मतदाताको मनमा गढेको देखिन्छ ।

मतदातासँगको संवादको क्रममा थापालाई अघिल्लो निर्वाचनमा मतदान गर्नेहरु पनि अव पुग्यो भन्न थालेका छन । यस हिसावले हेर्दा उम्मेदवारी मनोनयनपछि अहिलेसम्म आइपुग्दा थापाको ग्राफ ओरालो लागेको देखिन्छ भने चुनाव हारेर पनि लगातार काठमाडौं ४ कै बिकासमा क्रियाशिल रहेकोले राजनलाई पहिला नदिएका मतदाता पनि दिनुपर्छ भन्ने मनस्थितिमा पुगेको देखिन्छ । स्वतन्त्रको पक्षमा पनि बिगतमा थापालाई मतदान गरेकै मतदाताहरु देखिएका छन ।