जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार ०५:२५

रोचक बन्दै झापा १ मा अग्नि र बिश्वप्रकाशबीच भिडन्त : यस्तो छ ‘ग्राउण्ड रियालिटी’


काँकडभिट्टा, कात्तिक १८ । नेकपा एमालेको किल्लाका रुपमा स्थापित झापा क्षेत्र नम्बर १ मा दुई चर्चित नेताबीचको प्रतिस्पर्धा निकै रोचक देखिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल मतदाता माझ पुगेर आफ्नो अभियानलाई तीब्र बनाएपछि प्रतिस्पर्धा रोचक बनेको मतदाताले बताएका छन ।

तिहार सकिएलगत्तै खरेल र शर्मा आआफ्नो पार्टीको बिजयको लागि बढीभन्दा बढी मतदाताबीच पुग्ने होडवाजी नै चलेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भएको कारण चर्चामा रहेको झापामा शर्मा र खरेल जस्ता हेभिवेट नेताको टक्करले मतदाता समेत उम्मेदवारको पक्षमा खुलेर लाग्न थालेको दृष्यसमेत देखिएको छ ।

झापा–१ एमालेको किल्ला हो । अघिल्लो पटक माओवादीसँगको तालमेलका लागि एमालेले राम कार्कीलाई छाडेर जिताएको थियो । यसपटक कार्की एमालेको गढमा चुनाव लडदिन भन्ने सार्वजनिक घोषणा नै गरिदिनु भयो । एमालेबाट यसपटक पहिलो पटक प्रत्यक्ष चुनावमा होमिनु भएका खरेल संविधानसभा सदस्य, पूर्व कानुनमन्त्री, पूर्व महान्यायाधिवक्ता समेत हुनुहुन्छ । खरेल एमाले झापा जिल्लाको इञ्चार्ज पनि हुनुहुन्छ । हसिला मिजासका खरेल बौद्धिक नेता पनि हुनुहुन्छ ।

यस निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धी रहनुभएका एमाले नेता खरेललाई राप्रपा र राप्रपा नेपालको पनि साथ रहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला झापामा राप्रपा तेस्रो ठूलो शक्ति हो । यता शर्मा सत्तारूढ चार दलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ ।

साबिक झापा–३ र हाल झापा–१ को आम निर्वाचनको तथ्याङ्क केलाउँदा नेकपा (एमाले)ले तीन पटक, नेकपा माओवादीले दुई पटक र कांग्रेसले एक पटक विजयी हासिल गरेको क्षेत्र हो । २०४८, २०५१ र २०७० मा एमालेका क्रमशः राधाकृष्ण मैनाली, देवीप्रसाद ओझा र रविन कोइराला निर्वाचित हुनुभएको थियो । २०६४ र २०७४ मा माओवादीका क्रमशः धर्मप्रसाद घिमिरे र सुरेन्द्रकुमार कार्की निर्वाचित हुनुभएको थियो । त्यस्तै कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ २०५६ सालमा निर्वाचित हुनुभएको थियो ।

लालकिल्ला मानिएको झापा १ मा शर्मा तेस्रो पटक उम्मेदवार बन्नुभएको छ । २०७० सालमा पहिलो पटक उम्मेदवार बन्नुभएका शर्मा एमालेका रविन कोइरालासँग ६८९ मतान्तरले पराजित हुनुभएको थियो । कोइरालाले १७ हजार २२९ मत पाएर बिजयी बन्दा शर्माले १६ हजार ५४० मत ल्याउनु भएको थियो । २०७४ सालको आम निर्वाचनमा शर्मा फेरि पराजित हुनुभयो ।

शर्मा बाम गठबन्धनका तर्फबाट माओवादीका कार्कीसँग २ हजार ८६३ मतान्तरले पराजित हुनुभएको हो । शर्माले ३३ हजार ३१० मत ल्याउँदा कार्कीले ३६ हजार १७३ मत ल्याएर बिजयी बन्नुभएको थियो ।

यस पटक पराजयमा ह्याट्रिक हुनुपर्ने अवस्थाबीच शर्मा उम्मेदवार बन्नुभएको छ । तर जित्नका लागि शर्माले कुनै कसर बाँकी राख्नुभएको छैन । शर्माको निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा एमाले पहिलो पार्टीको रूपमा फेरि उदय भएको छ । शर्मा आफ्नै गृहपालिका मेचीनगरमा पनि कांग्रेसलाई जिताउन असफल बन्नुभयो ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा झापा क्षेत्र नम्बर १ को तथ्याङ्क हेर्दा नेकपा एमालेसँग एक्लै ३१ हजार ८३ मत रहेको छ भने तालमेल गरेको राप्रपासँग ५ हजार ९२२ मत रहेको छ । यस्तै कांग्रेसका वडाध्यक्षहरूलाई जम्मा २४ हजार ५९ मत आएको छ । माओवादी केन्द्रसँग ३ हजार ९०५ तथा एकीकृत समाजवादीसँग १ हजार २५२ र लोसपासँग १३२ मत छ अर्थात् गठबन्धनसँग २८ हजार ९६ मत छ । यो तथ्यांक हेर्दा एमाले गठबन्धनसँग ३७ हजार ५ मत छ ।

झापा १ मा एमालेका खरेल र कांग्रेसका शर्मासहित १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन । जसपाका राधा थापा, लोकतान्त्रिक समाजवादीका ओलीन राजबंशी, हाम्रो नेपाली पार्टीका ठण्डबहादुर अधिकारी, नेपालका लागि नेपाली पार्टीका मुकन्द दाहाल, मंगोल नेशनल अर्गानाइजेशनका सन्तोष तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदममाया लिम्बु, राष्ट्रिय जनमुक्तिका चित्रहाङ जबेगु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै नेपाल जनता पार्टीका रामकुमारकाफ्ले, जनसमाजवादी पार्टीका रमेश बाँस्तोला, राष्ट्रिय स्वतन्त्र पार्टीका होमनाथ भण्डारी र स्वतन्त्रहरु बिकाश राजबंशी, केन्द्रकुमारी दाहाल र बिदुरकुमार खतिवडा शर्मा र खरेलसँगै चुनावी प्रतिस्पर्धामा होमिनु भएको छ ।

झापा–१ अन्तर्गत मेचीनगर नगरपालिकाका १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ वडा र भद्रपुर नगरपालिकाका ९ र १० गरी जम्मा २१ वटा वडा पर्छ । जम्मा एक लाख २० हजार ३७५ मतदाता रहेकोमध्ये मेचीनगर ६ मा सबैभन्दा धेरै मतदाता छन। मेचीनगर ६ मा ११ हजार ६९३ मतदाता छन। सबैभन्दा कम मतदाता वडा बुद्धशान्ति ७ छ । त्यहाँ १ हजार ६१८ मात्रै मतदाता छन ।