डा. प्रशान्त भारद्वाज/गोठाटार । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिएसँगै चुनावी अभियान तीब्र बनाएका राजनीतिक दलबीच प्रतिस्पर्धा पनि निकै बढेको छ ।
आफूले जित्ने दाबी गर्दै उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन । उम्मेदवारले आफू जित्ने दावी गरिरहँदा स्थानीय अवस्था भने फरक देखिएको छ । चुनावी अघि बढिरहँदा चर्चाको केन्द्रमा काठमाडौं क्षेत्र नम्बर–२ पनि देखिएको छ । यो क्षेत्रमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ ।
काठमाडौं २ मा सवैले आफ्नो दावी गरे पनि मतदातासँग जनताटाइम्स डटकमले गरेको स्थलगत कुराकानीका आधारमा यो क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका मणिराम फूयाल रोल्पाबाट पाहुना उम्मेदवार बन्नुभएकी सत्ता र राप्रपाकी कुन्ती पोखरेलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । गत स्थानीय निर्वाचनमा आएको मत परिणामका आधारमा फुयाल र घर्तीबीच प्रतिस्पर्धा हुने देखिए पनि काठमाडौ २ का मतदाताको बुझाइमा तथ्य फरक देखिन्छ ।
यो निर्वाचन क्षेत्रमा १० स्वतन्त्रसहित २९ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले कति जनताको मत जित्न सक्ने हुन त्यो अड्कल गर्न अहिले गाह्रो छ ।
अहिले चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी घर्ती, एमालेका फूयाल, राप्रपाकी कुन्तीदेवी पोखरेलसहित जनता समाजवादी पार्टी (जसपा) का गोपालबहादुर टण्डुकार, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका मधुसुदन पुडासैनीलगायत दलगत उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै स्वतन्त्रबाट काशिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोदप्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खडका, बलराम चौलागाई, कृष्ण अधिकारी, कृष्णराम पुरी चुनावी प्रतस्पर्धामा हुनुहुन्छ ।
धेरै स्वतन्त्र उम्मेदवार भएकाले पनि कसले कति मत ल्याउने भन्नेले नतिजामा फरक पार्ने अनुमान गरिएको छ । यो निर्वाचन क्षेत्रमा ०७४ सालको निर्वाचनमा तत्कालीन एमालेका बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसका दीपकप्रसाद कुँइकेलले १४ हजार ९०३ मत पाउनु भएको थियो ।
तेस्रो बनेका विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत पाउनु भएको थियो । गत प्रतिनिधि सभा निर्वाचनमा ५३ हजार ४५ मत खसेको थियो । अहिले भने अवस्था फेरिएको छ । यो निर्वाचन क्षेत्रमा यसअघिका सांसद माधव नपालको नाम लिँदा आउने मत पनि घटने देखिएको छ । माधवले यस क्षेत्रका कुनै काम नगरेको र सम्पुर्ण ध्यान रौटहत ४ मा लगाएको यस क्षेत्रको मतदाताको बुझाइ छ ।
यस्तो पृष्ठभूमिमा काठमाडौं–२ मा सत्ता गठबन्धनको तर्फबाट माधवकै प्रतिनिधि बनेर उम्मेदवारी दिनुभएको छ माओवादी नेतृ घर्तीले । घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । रोल्पा जन्मथलो भएकी घर्ती २०७० मा उपसभामुख र २०७२ मा सभामुख बन्नुभयो । २०७४ को निर्वानमासमानुपातिक तर्फबाट सांसद बन्नुभएकी घतीृअन्तरिम संसद र पहिलो संविधान सभामासमेत हुनुहुन्थ्यो ।
माओवादी नेता बर्षमान पुनकी पत्नी घर्तीको काठमाडौं २ मा यसअघिसम्म कुनै साइनोसमेत थिएन । उहाँ रोल्पाबाट पाहुना बनेर यस क्षेत्रमा आउनु भएको हो । यस क्षेत्रका माओवादी नेतासमेत घर्तीले चिन्नु हुन्न । पेप्सीकोलामा भेटिएका माओवादीकै एक नेताले भने, प्रचण्ड काठमाडौं १० बाट हारेपछि ओनसरी कमरेड काठमाडौंका मान्छे जस्तो खत्तम कोही छैन भन्नुहुन्थ्यो, अहिले खत्तम मान्छेकै बीचमा उम्मेदवार बन्नुभएको छ । उनको यो भनाईले घर्तीमा काठमाडौंका मतदातासँग कुनै बिश्वास छैन भन्ने देखिन्छ ।
तथ्यांकमा काठमाडौं–२
निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार काठमाडौं क्षेत्र नम्बर–२ मा ८१ हजार ७९० मतदाता छन् । २०७४ सालको निर्वाचनमा ७४ हजार ७५५ मतदाता रहेको यो क्षेत्रमा २०७९ को निर्वाचन आउँदा ७ हजार २१५ मतदाता थपिए । थपिएका मतदाता अधिकांश २० देखि ४५ वर्ष उमेर समूहका छन् ।
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर ९ र ३२ पर्छ । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ यही क्षेत्रमा पर्छ । शंखरापुर नगरपालिकाका सबै वडा यही क्षेत्रमा छन् । बढी जनघनत्व भएको गौशाला र कोटेश्वरपनि यही निर्वाचन क्षेत्रमा पर्छन ।
स्थानीय तह निर्वाचनमा काठमाडौं ९ को वडाध्यक्षमा कांग्रेस र ३२ मा एमाले विजयी भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको ४ मा एमाले, ५ मा कांग्रेस, ६ मा नेकपा एकीकृत समाजवादी, ७, ८ र ९ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ ।
शंखरापुर नगरपालिकाको मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस निर्वाचित भएको छ । यस नगरपालिकाको १ नम्बर वडाध्यक्षमा माओवादी केन्द्र, २ मा नेपाली कांग्रेस, ३ मा राप्रपा, ४ मा कांग्रेस, ५ मा एमाले, ६, ७ मा राप्रपा, ८ र ९ मा कांग्रेस विजयी भएका थिए ।
एमालेको मात्रै १७ हजार ३२८ मत छ । कांग्रेसको १४ हजार १२८, नेकपा एकीकृत समाजवादीको ७ हजार ९११, राप्रपाको ६ हजार ८१९, माओवादी केन्द्रको ३ हजार ३६, विवेकशील साझा पार्टीको १५४, लोसपाको ८ र स्वतन्त्रको १६ मत छ ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई हेर्दा यो निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । तर सत्ता गठबन्धनककै उम्मेदवार भए पनि रोल्पाकी ओनसरीलाई यो क्षेत्रको मतदाताले दुस्मन मानेको कारण फूयाललाई टक्कर दिने कुन्ती र सोबिता नै देखिएका छन ।
माओवादीमा सदाबहार अवसर पाउने बर्षमान पुुनकी पत्नी ओनसरी माओवादी धेरै अवसर पाउने तर काम नगर्ने नेतृका रुपमा चिनिनु हुन्छ । यसपटक पाहुना बनेर प्रतक्ष्य प्रतिस्पर्धामा उत्रिनु भएकी घर्तीलाई काठमाडौंका जनतासँग यसअघि कुनै माया ममता नै थिएन ।
घर्तीसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट उम्मेदवार बनेका फुयाल भने स्थानीय हुनुहुन्छ । मतदाताकै भनाई हनुसार शिक्षण पेशाबाट सक्रिय राजनीतिमा होमिनुभएका फुयालमा काठमाडौं २ का जनताको समस्या समाधान भन्दा अर्काे चिन्ता छैन । २०४९ सालबाट शिक्षण शुरु गरेका फुयाल २०६५ सम्म शिक्षण पेशामा हुनुहुन्थ्यो । लामो समय नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापकको भूमिकामा उहाँले काम गर्नुभयो ।
व्यवस्थापनमा स्नातक फुयाल शिक्षाशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । फुयाल ०७४ मा नेकपा एमालेबाट उम्मेदवार बनेर काठमाडौं–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । प्रदेश सभाको निर्वाचनमा उहालाई लोकप्रिय मत प्राप्त भएको थियो । १६ हजार ५७५ मत फुयालले ल्याउँदा कांग्रेसका मनहरि खड्काले ८ हजार २६८ मत मात्रै पाउनु भयो ।
एमाले मात्र नभई कांग्रेस र अन्य पार्टीमा आवद्ध कार्यकर्ताको समेत समस्यामा सदैव साथ दिँदै आउनु भएका फुयाललाई कांग्रेस र माओवादीकै पक्षधर मतदातासमेत मन पराउने गरेका छन । म माओवादी बाहेक अन्त भोट हाल्न जानेकी मान्छे होइन, तर रोल्पाबाट पाहुन आएकालाई भोट हालिन्न, स्थानीयलाई नै हालिन्छ, माओवादीकै एक नेतृले भन्नुभयो ।
मतदाताको रोजाईमा फुयालपछि काठमाडौं २ मा अर्की लोकप्रिय उम्मेदवार कुन्तीदेवी पोखरेल देखिनुभएको छ । राप्रपाकी ३५ वर्षीया पोखरेल पनि यो क्षेत्रको मतदाताले रुचाएको देखिन्छ । सत्ता गठबन्धनले घर्तीलाई पाहुना उम्मेदवार बनाएर ल्याएपछि उनीभन्दा कुन्ती ठीक भन्ने पनि देखिएका छन । मत माग्दा कुन्तीले युवा आवाज र अहिलेको आवश्यकतालाई संसदबाटै सम्बोधन गर्ने वातावरण मिलाउने बताउने गर्नुभएको छ भने पाहुना (ओनसरी) लाई सदाका लागि बिदा गरौं भन्ने गर्नुभएको छ ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सोविता गौतम सामाजिक पनि चर्चामै हुनुहुन्छ । सामाजिक अभियन्ता र पूर्वपत्रकार गौतम एमाले उम्मेदवार फुयाल र राप्रपाकी पोखरेलपछि लोकप्रिय देखिनुभएको छ । यही आधारमा भन्दा अहिलेसम्म काठमाडौं २ मा माओवादी नेतृ ओनसरी घर्ती निकै तल देखिनुभएको छ भने एमालेका मणिराम फुयाल, राप्रपाकी कुन्ती पोखरेल र स्वतन्त्र सोबितामाध्ये एक बिजयी हुने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्