जनता टाइम्स

२० कार्तिक २०७९, आईतवार १६:१३

भीमसेनदासप्रतिको मोह भंग हुँदा मतदाताको मन जित्दै सर्वेन्द्र : स्वतन्त्रसहित यस्तो छ काठमाडौं–६ को अंकगणित


काठमाडौं, कात्तिक २० । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं–६ को प्रतिस्पर्धा निकै रोचक बन्न पुगेको छ ।मतदातासँगको स्थलगत कुराकानीपछि काठमाडौं ६ को चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक बन्ने देखिएको हो ।

स्वतन्त्र उम्मेदवारहरुले समेत निकै प्रभावकारी प्रचार शैली अपनाइरहेको काठमाडौं–६ मा मुख्य प्रतिस्पर्धा भने नेकपा एमालेका उम्मेदवार पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदाश प्रधानकै बीचमा देखिएको छ । चुनावको मिति नजिकिएसँगै मतदाता भेटघाटलाई राजनीतिक दल र उम्मेदवारहरुले तीब्र बनाएसँगै मतदाता पनि आफ्नो रोजाईमा कुन उम्मेदवार छन भन्ने खुलेर भन्न थालेका छन ।

नेपाल प्रहरीको सेवामा रहँदा काठमाडौं जिल्लाको प्रहरी प्रमुख भएर काम गरेको र प्रहरी प्रमुख भएर सिंगो देशमा शान्ति सुरक्षाको अवस्था बलियो बनाउने भूमिका खेलेको कारण काठमाडौं ६ का मतदातामाझ खनाल चर्चित नै देखिनुभएको छ । जनताटाइम्स डटकमको टीमले काठमाडौं ६ को मुख्य शहरी क्षेत्र ठमेल, लैनचौर, असन, कमलादी, सामाखुसी, बानियाँटार, धर्मस्थली, पूरानो बसपार्क जस्ता स्थानका मतदातासँग कुराकानी गर्दा सवैजसो मतदाताले पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएको भए पनि सर्वेन्द्र खनाललाई चिन्ने प्रतिक्रिया दिए ।

‘सर्वेन्द खनाल प्रहरीमा रहँदा गुण्डागर्दी नियन्त्रण र सुधारमा निकै काम गर्नुभएको छ, उहाँ काठमाडौं हुँदा नै यस क्षेत्रमा गुण्डागर्दी नियन्त्रण भएको हो, आतंक पनि कम भयो,’ आफू यसअघि नेपाली कांग्रेसमा भोट हाल्ने भए पनि खनालको कामले आकर्षित गरेको बताउनु हुन्छ, धर्मस्थलीका कुमार तामाङ । काठमाडौं ६ मा खनाललाई यसैगरी सम्झनै तामाङजस्ता थुप्रै मतदाता भेटिएका छन, जो एमाले होइनन तर मतदान गर्ने निर्णयमा पुगिसकेका छन ।

भन्छन, ‘राम्रो काम गर्नेलाई त अवसर दिनैपर्छ नि, सर्वेन्द्र त काममा अब्बल छन भन्ने प्रमाणित भइसक्नु भएको छ नि ।’ यी दृष्यहरुले यसअघि भीमसनदासको मतदाता रहेका थुप्रै युवा युवतीहरु एमालेका सूर्य ध्वजाबहाक उम्मेदवार सर्वेन्द्रतर्फ आकर्षित भएको देखिन्छ । त्यसो त काठमाडौं ६ मा एमालेसँगै गठबन्धनका उम्मेदवार प्रधान पनि आफू जित्ने दावी गर्दै आउनु भएको छ । सत्ता गठबन्धनले आफूले जित्ने दाबी गरे पनि एमालेले पनि जित करिब निश्चित भएको बताएको छ ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका प्रधान नै यो क्षेत्रबाट विजयी हुनुभएको थियो । उहाँले १६ हजार सात सय ८५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी १५ हजार चार सय ८५ मत पाउनु भयो । विवेकशील साझा पार्टीका रमेश चिलुवालले ४ हजार २२५ र जनसमाजवादी पार्टीका शैलेसराज श्रेष्ठले ७९१ मत ल्यउनु भएको थियो । एमालेले माओवादीलाई छाडेकै कारण २०७४ मा प्रधान निर्वाचित हुनुभएको हो ।

यो निर्वाचन क्षेत्र नेकपा एमालेको बिरासतसँगसमेत जोडिएको छ । २०५१ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेकी साहाना प्रधानले कांग्रेसका दामोदर गौतमलाई पराजित गर्नुभएको थियो भने २०५६ सालमा एमाले कै अष्टलक्ष्मी शाक्यले कांग्रेस उम्मेदवार मार्शल जुलुम शाक्यलाई पराजित गर्नुभएको थियो । यसरी हेर्दा यो क्षेत्रको मत चलायमान देखिन्छ । यहाँका मतदाताले उम्मेदवार अनुकुल मतदान गरेको देखिन्छ । जसले यसपालीको निर्वाचनमा पनि उतारचडाव हुने देखिन्छ ।

अहिले काठमाडौं–६ मा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमा प्रधान नेपाली कांग्रेस काठमाडौंको सदस्यदेखि सचिव हुँदै जिल्ला सभापतिसम्म भएर काम गर्नुभएको छ । त्यस्तै एमाले उम्मेदवार खनाल नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक भएर काम गर्नुभएको छ । अपराध नियन्त्रण तथा समाज रूपान्तरणमा उनको योगदान रहेको चर्चा गर्ने गरिन्छ ।

उर्भर समय प्रहरी संगठनमा रहेर नेपाल प्रहरीको नेतृत्व गर्नुभएका खनाल गत असोज ६ गते एमाले प्रवेश गरेर राजनीतिक करिअर अघि बढाउनु भएको हो । आफूले संगठनमा रहेर गरेको काम र आफ्नो क्षमतालाई हेरेर जनताले मत दिने विश्वास खनालको बिश्वास छ । पहिलो पटक चुनाव लडे पनि मतदातामाझ परिचित रहेको कारण कतिपय मतदाता आफै खनाललाई फोन गरेर भेटन जाने गरेको दृष्यसमेत देखिएको छ ।

 

मुख्य प्रतिस्पर्धी खनाल र प्रधानलाई स्वतन्त्र उम्मेदवारले पाउने मतले पनि तलमाथि पार्न सक्ने देखिएको छ । काठमाडौं ६ मा खनाल र प्रधानसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको पनि चर्चा बढदै गएको देखिएको छ । शिशिरले काट्ने मतले सत्ता गठबन्धन र एमाले कसलाई कति लाभ कति हानी भन्ने तय हुने छ । अहिलेसम्मको अवस्था हेर्दा शिशिरले भीमसेनदासकै बढी मत काटने देखिएको छ ।
यो क्षेत्रमा जनता समाजवादी पार्टीका मनोज आचार्य, राप्रपाका विष्णुप्रसाद आचार्य, राप्रपा नेपालका महेश्वर कार्कीले पनि पछिल्लो समय आफ्नो प्रभाव बढाउँदै लगेको देखिएको छ ।

काठमाडौं ६ मा खनाल र प्रधानसँगै राष्ट्रिय स्वतन्त्रका शिशिर, जसपाका मनोज आचार्य, राप्रपाका बिष्णु आचार्य, नेमकिपाका सनकमान महर्जन, मौलिक जराकिलोका कमल न्यौपाने, हाम्रो नेपाली पार्टीका मुकुन्द सिलवाल, राप्रपा नेपालका महेश्वर कार्की, राष्ट्रिय जनमुक्तिका तारा रसाईली? बिवेकशील साझाका अजित खडका, एकीकृत शक्तिका काजी शेर्पा, नेपाल आमा पार्टीका राजेन्द्र खनाल उम्मेदवार हुनुहुन्छ ।
यसैगरी बिष्णुप्रसाद ढकाल, दिपु उप्रेती, जनकराज थपलिया, संजयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इङनाम, खगेन्द्र ढकाल र राजेश श्रेष्ठ (मास्के) स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

आगामी निर्वाचनमा काठमाडौं –६ मा ६२ हजार १०२ मतदाता रहेका छन । यसअघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ५८ हजार १८७ मतदाता थिए । ०७४ को निर्वाचनमा ४० हजार ४५५ मत खसेको थियो । गत प्रतिनिधि सभा निर्वाचनको तुलनामा यो पटक ३ हजार ९१५ मतदाता थपिएका छन् । थपिएका मतदाता मध्ये अधिकांश २५ देखि ५१ वर्ष उमेर समूहका छन ।

काठमाडौं ६ मा काठमाडौं महानगरपालिकाका २६, २७ र २८, टोखा नगरपालिकाको वडा नम्बर १, ८, ९, १०, ११ र तारकेश्वर नगरको वडा नम्बर १, २, ६, ७, ८, ९, १० र ११ पर्छन । यो क्षेत्रमा काठमाडौं महानगरको ठमेल, लैनचौर, असन, कमलादी, सामाखुसी, बानियाँटार, धर्मस्थली, पूरानो बसपार्कलगायत रहेको छ ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत विश्लेषण गर्दा कामनपा २६, २७ र २८ मा कांग्रेसले धेरै मत पाएको छ । टोखा १ मा कांग्रेस, तारकेश्वर १, ९ मा एमाले तथा वडा नम्बर २, ६, ७, ८, १० र ११ मा कांग्रेस विजयी भएको थियो ।

स्थानीय तह निर्वाचनमा खसेको मतमा कांग्रेस पहिलो पार्टी बनेको थियो । कुल प्राप्त मत विश्लेषण गर्दा कांग्रेसले १७ हजार २८३ मत ल्याएको थियो । एमालेले १३ हजार ६९३ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले २ हजार ४४९ मत ल्याएको थियो । नेकपा एकीकृत समाजवादी १ हजार ७७९ र राप्रपाले १ हजार ४३६ मत ल्याएको थियो ।

वडाध्यक्षको मत आंकलनमा नेमकिपाको २८९ मत थियो । तर अहिले नेकपा एसका अधिकांश मतदाता एमालेतिरै आकर्षित देखिएका छन भने उम्मेदवारको कारण कांग्रेसकै मतदाताले पनि एमाले उम्मेदवार खनाललाई मत दिने अवस्था सिर्जना भएको देखिएको छ ।

चुनावको समग्र अवस्था हेर्दा कांग्रेस उम्मेदवार प्रधानको ग्राफ लगातार घटिरहनु र सर्वेन्द्रप्रतिको आकर्षण बढेको देखिएपछि प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ । अपराध नियन्त्रण र समाजको रुपमान्तरणमा सर्वेन्द्रले खेलेको भूमिका काठमाडौं ६ का कतदातालाई आकर्षित गरिरहेको छ । भन्छन, ‘अव पहिलाकालाई हालिन्न, सर्वेन्द्रलाई नै मत हाल्ने हो । केही नयाँ काम र समाजको रुपान्तरण गर्छन भन्ने पूर्ण बिश्वास छ ।’ मतदाताको बिश्वास बढिरहेको बेला सर्वेन्द्र खनालले यही अवस्थालाई कायम राखे जीत निकाल्ने अनुमान गर्न सकिन्छ ।