जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार ०७:१६

लमजुङमा विचित्रको चुनावी रौनक, निश्क्रिय उम्मेदवारको पक्षमा भोट माग्दै पार्टीहरू !


लमजुङ, २० कात्तिक । लमजुङमा दुई उम्मेदवारलाई सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङले लोभ्याए पनि ती उम्मेदवार सम्वद्ध पार्टीलाई लोभ्याउन नसक्दा अफ्ठ्यारोमा पर्नुभएको छ । दुई हेभिवेट उम्मेदवार मुख्य प्रतिस्पर्धी रहेको लमजुङमा माओवादी महाचिव तथा सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङ आफ्नो कारणले आफै अफ्ठ्यारोमा पर्नुभएको छ ् ।

विगतका निर्वाचनको तथ्यांकअनुसार नेकपा (एमाले) एक्लैको बहुमत रहेको लमजुङमा एमालेकातर्फबाट सो पार्टीको उपमहासचिव पृथ्वी सुब्बा गुरुङ उम्मेदवार हुनुहुन्छ । एमालेका उपमहासचिवसँग माओवादीका महासचिवको सोझो भिडन्त देखिए पनि यस जिल्लामा एमालेका जनाधार निकै दह्रो रहेको बताइन्छ । त्यही भएर गठबन्धनका उम्मेदवार देव गुरुङले जनता जमाजवादी पार्टीका उम्मेदवार नरेन्द्र गुरुङ र नेपाली काँग्रेस (बिपी) का उम्मेदवार डा. लक्ष्मीकान्त पौडेललाई लोभ्याएर उम्मेदवारी निश्क्रिय पार्न लगाउनुभएको थियो ।

तर, नरेन्द्र र लक्ष्मीकान्तले निजी रुपमा पत्रकार सम्मेलन गर्दै वक्तव्यसमेत जारी गरी उम्मेदवारी हापेको भएता पनि उहाँहरूसम्वद्ध पार्टीले भने भोट मागिरहेका छन् ।

उहाँहरूले कार्तिक १३ गते विहान जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी आफूहरूले उम्मेवारी हापेर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको उल्लेख गर्नुभएको थियो । तर आजका दिनमा पनि ती दलको जिल्ला नेतृत्वले भने उहाँहरुलाई भोट मागिरहेको अवस्था छ ।

डा. लक्ष्मीकान्त पौडेलले आफूले ४० वर्षसम्म रगत पसिना बगाएको पार्टी नेपाली काँग्रेसमै फर्किएको पत्रकारहरू माझ घोषणा गरी सोही दिनदेखि सो दलका चुनावी कार्यक्रममा सहभागी हुन थालेको देखिन्छ । तर नरेन्द्र गुरुङले भने जसपा पार्टी त्याग नगरेको तर आफ्नो समर्थन देव गुरुङलाई रहने बताउनुभएको थियो ।

ुनेपाली कांग्रेस (विपि)का जिल्ला अध्यक्ष तेजनारायण अधिकारीसँग सम्पर्क गर्दा ‘डा. लक्ष्मीकान्त पौडेलले हामीसँग सोध्ने, सल्लाह गर्ने गरेर उम्मेदवारी फिर्ता गरेका होइनन, व्यक्तिले कहाँ के गर्छन् । त्यो उनीहरूको कुरा हो । कोही निस्क्रिय हुन सक्छ । तर, पार्टीले आफ्नो प्रचारप्रसार गर्ने र भोट माग्ने काम रोकेको छैन र रोक्दैनौं पनि,’ उहाँले भन्नुभयो ।

पार्टीको केन्द्रले सञ्चालन गरेको आधिकारीक फेसबुक पेजमा त्यो सबै उल्लेख रहेको र उत्साहित ढंगले चुनावी अभियानमा लागिरहेको अधिकारीले बताउनुभयो ।